भोकले अफगानिस्तानमा लाखौंको ज्यान जान सक्छ : बिस्ले

काबुल । विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लेले लाखौं अफगानीले भोकमरीका कारण ज्यान गुमाउने अवस्था आउनसक्ने चेतावनी दिएका छन् । तत्काल कदम चालेर अफगानिस्तानलाई धरासायी हुनबाट जोगाउनुपर्ने उनको भनाइ छ । सोमबार बिस्लेले अफगानिस्तानको आधाभन्दा बढी जनसंख्याले चरम खाद्य असुरक्षा सामना गरेको बताए । २ करोड २८ लाख जनसंख्याले गम्भीर खाद्य संकट सामना गरेको र ‘भोकमरीतर्फ लम्किरहेको’ उनको भनाइ छ ।

बिस्लेका अनुसार चरम खाद्य अभाव भोगेको जनसंख्या दुई महिनाअघि एक करोड ४० लाख थियो । तर हाल उक्त संख्या बढेर दुई करोडभन्दा बढी पुगेको छ । ‘बालबालिकाहरु मर्दैछन्, मानिसहरु भोकै हुने अवस्था आउँदैछ,’ दुबईमा बोल्दै बिस्लेले भने, ‘अवस्था अझ खराब हुन सक्छ ।’ आर्थिक अभाव र धरासायी बनिरहेको अर्थतन्त्रका कारण बालबालिकासहित लाखौं मानिसले ज्यान गुमाउने अवस्था आउन दिन नहुने पनि उनको भनाइ थियो ।

बिस्लेले अन्तर्राष्ट्रिय दातालाई सहायता रकम पुनः प्रवाह गर्न र रोक्का भएको सम्पत्ति फुकुवा गर्न समेत आग्रह गरेका छन् । ‘मानिसहरु बाँच्न सकून् भने तपाईंहरुले यी कोषहरु फुकुवा गर्नुपर्छ ।’ तालिबानले सत्ता कब्जा गर्नुपूर्व नै अफगानिस्तानमा जलवायु परिवर्तनका कारण खाद्य संकट गम्भीर बन्दै गएको थियो । तर पश्चिमा समर्थित सरकारको बहिर्गमनपछि दाताले अर्बौं डलर रोकेपछि संकट थप गहिरिएको छ ।

प्रतिक्रिया