सूडानमा सैन्य ‘कू’ : प्रधानमन्त्रीसहित मन्त्रीहरू पक्राउ

सूडान । यहाँको सैन्य कूको खबरबीच अन्तरिक सरकारका थुप्रै मन्त्री र सदस्यलाई उनीहरुको घरबाट पक्राउ गरिएको छ । प्रधानमन्त्री अब्दुल्ला हमदोक र उनका कम्तीमा चार मन्त्रीलाई पक्राउ गरिएको छ । यी सबैलाई सोमबार बिहानै केही अज्ञात सैनिकले हिरासतमा लिएको बताइएको छ ।

यद्यपि, सूडानको सेनाले यसबारे कुनै टिप्पणी भने दिएको छैन तर लोकतन्त्र समर्थक समूहले मानिसहरुलाई सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न अपिल गरेका छन् । दुई वर्ष अघि, वषौंदेखि सूडानमा राज गरिरहेका उमर अल–बशीरलाई सत्ताबाट हटाइएपछि एक अन्तरिम सरकार अस्तित्वमा आएको थियो ।

त्यसयता सेना र नागरिक सरकारबीच विवादको स्थिति छ । यी गिरफ्तारी कसले गरायो भन्ने अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार राजधानी खार्तूममा इन्टरनेट बन्द छ । सोसल मिडियामा सेयर गरिएका सन्देशमा रुष्ट भीडले सडकमा टायर बालिरहेको देखिएका छन् ।

समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै खार्तूममा सेना र अर्धसैनिक बल तैनाथ छन् र मानिसहरुको आवतजावत सिमित गरिएको छ । खार्तूम विमानस्थल पनि बन्द गरिएको छ र सबै अन्तरराष्ट्रिय उडान स्थगित गरिएको छ ।

प्रतिक्रिया