मिस युनिभर्समा १६ प्रतियोगी भिड्दै

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रिएसनले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो । सो अवसरमा १६ जना प्रतियोगीले रेड कार्पेटमा ¥याम्पवाक गर्दै मिडिया तथा उपस्थित दर्शकमाझ आफ्नो परिचय र भविष्यको लक्ष्य प्रस्तुत गरेका थिए । यस्तै, याक एण्ड यतिको लालदरबार कन्भेन्सन सेन्टरमा आयोजना भएको उक्त कार्यक्रममा १६ जना प्रतियोगीले आत्महत्या, यौनशिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकाको शिक्षा लगायतका विविध सामाजिक विषयमा बनाइएको २ देखि ३ मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा १६ बाट शीर्ष १० छानिने आयोजकले जनाएको छ । छनोटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत आइएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङबाट हुनेछ । सोही एपबाट मिस ‘युनिभर्स नेपाल २०२१’ को पिपुल्स च्वाइसमा भोटिङ गर्न सकिने र प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको भिआइपी टिकटसमेत प्राप्त गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही अक्टोबर ३० अर्थात् कार्तिक १३ गते शनिबार आयोजना हुनेछ । प्रतियोगिताको शीर्ष बिजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । ‘मिस युनिभर्स’ का लागि उमंग क्रिएसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो । गतवर्ष ‘मिस युनिर्भस’ मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की बिजेता अंशिका शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया