माङसेबुङ गाउँपालिका सदरमुकामसँग सम्पर्कविच्छेद

इलाम । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले पुल र सडक बगाउँदा जिल्लाको पश्चिमी माङसेबुङ गाउँपालिका सदरमुकामसँग यातायात सम्पर्कविच्छेद भएको छ । सदरमुकामबाट माङसेबुङ गाउँपालिका जोड्ने मुख्य सडक इलाम–नेपालटार–मंगलबारे–गजुरमुखी सडक खण्डका विभिन्न क्षेत्रमा गएको पहिरोेले यातायात अवरुद्ध छ  । सो सडक खण्डको दर्जनौँ स्थानमा पहिरो खसेको तथा रुखहरू ढलेर सडक अवरुद्ध छ । त्यस्तै सोही सडकमा पर्ने देउमाई–फाकफोक खोलाको दोभानको पक्की पुल बगाएको छ । बाढीले माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने सो पक्की पुल बगाएछ सडक सम्पर्क विच्छेद भएको छ । यसैगरी नजिकै रहेको माङसेबुङ गाउँपालिकाको गजुरमुखीधाम र देउमाई नगरपालिकाको बारुङ जोड्ने अर्को पक्की पुलसमेत जीर्ण बनाएको छ ।

सडक अवरुद्ध हुँदा कुनै पनि सवारी साधनहरू तथा मोटरसाइकलहरू समेत सञ्चालन हुन सकेका छैनन् । सवारी साधन नचल्दा दसैँ मनाएर सदरमुकाम फर्कने सयौं यात्रुहरू अलपत्र परेका छन् । कतिपय यात्रुहरू दुई दिन पैदल हिँडेर सदरमुकाम पुग्न बाध्य छन् । यस्तै सदरमुकामबाट माङसेबुङ आउनुपर्ने यात्रुहरूसमेत पैदल हिँड्न बाध्य बनेका छन् । यसैगरी बाढी र पहिरोका कारण पालिकासँग वडा र वस्तीको समेत सम्पर्क विच्छेद भएको छ । बाढी र पहिरोले सडकहरू क्षतविक्षत बनाएपछि वडा कार्यालय र पालिकाको यातायात सम्पर्क विच्छेद भएको हो ।

वडा–१ कार्यालयबाट पालिका जोड्ने विभिन्न सडकहरू अवरुद्ध भएका छन् । नाङरुङबाट तोभाङ हुँदै पालिका जोड्ने सहायक सडक तथा गजुरमुखी धामबाट पालिका जोड्ने मुख्य सडकको सयौँ स्थानमा पहिरो खसेर अवरुद्ध छ । ४ र ५ नम्बर वडा कार्यालयबाट पालिका जोड्ने दमक–चिसापानी–रवी (फाल्गुनन्द सडक) को केही भाग र ३ नम्बर वडा कार्यालयबाट पालिका जोड्ने इभाङ–चतुरे सडकको सयौँ स्थानमा पहिरोले सडक अवरुद्ध छ । कतिपय ठाउँमा ठूलठूला खाल्डाखुल्डी र रुखहरूले सडक अवरुद्ध बनाएका छन् ।

त्यस्तै ६ नम्बर वडा कार्यालयबाट पालिका जोड्ने दमक–चिसापानी–रवी (फाल्गुनन्द सडक) को केही भाग र भोटेडाँडा–इभाङ सडक अवरुद्ध भएकाले पालिकासँग यातायात सम्पर्क विच्छेद भएका छन् । ती सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेका छन् भने रुखहरू ढलेर सडक अवरुद्ध भएको छ । यस्तै वडाका सयौँ शाखा सडकहरू समेत पहिरोले अवरुद्ध छ । सडक अवरुद्ध भएपछि स्थानीय सेवाग्राही वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न समस्या भएको छ । उनीहरू सामान्य सिफारिस लिनसमेत घण्टौँको पैदल हिँड्न बाध्य भएका छन् ।

प्रतिक्रिया