ताप्लेजुङमा पाँच दिनदेखि दूर–सञ्चार सेवा अवरुद्ध

फुङ्लिङ । ताप्लेजुङमा पाँच दिन अघिदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवा अझै सुचारु हुन सकेको छैन । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवाअन्तर्गत ल्याण्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अझै सुचारु नभएको हो ।

सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूर सञ्चार सेवा अवरुद्ध बनेको छ । बेमौसमको वर्षा अर्थात आइतबारदेखि बुधबार साँझसम्म अविरल पानी परेकाले अप्टिकल फाइबरमा समस्या आएकाले सेवा अवरुद्ध बनेको बताइएको छ ।

नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दिपेन खवासका अनुसार अविरल वर्षापछि पानी जमेका कारण इटहरी र विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबरमा समस्या आएपछि सेवा अवरुद्ध बनेको हो ।

अप्टिकल फाइबर र टेलिकमको अन्य प्रविधिमा आएको समस्या समाधानका लागि काम जारी रहे पनि सेवा सुचारु हुन नसकेको खवासले बताए । उ

नका अनुसार नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका क्षेत्रमा वितरित एक हजार १०० बढी ल्याण्डलाइन टेलिफोन, इन्टरनेट सेवा प्रायःठप्प बनेको छ । यस्तै टेकमाइनलगायत निजी सेवा प्रदायक कम्पनीका इन्टरनेट सेवा पनि अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

जिल्लाभर टेलिफोन, एनटीसी मोबाइल र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही सेवा उपभोग गर्नबाट बञ्चित भएका छन् । टेलिफोन सम्पर्कका लागि एनसेल मोबाइल सामान्य चलेपनि इन्टरनेट नचल्दा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ । इन्टरनेट नचलेकाले तीन दिनदेखि बैंकिङ सेवा अवरुद्ध हुँदा जिल्लामा आर्थिक कारोबार ठप्प भएको छ ।

प्रतिक्रिया