पुटिनले जलवायु सम्मेलनमा भाग नलिने

मस्को । यसै महीना स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुन लागेको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६)मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भाग नलिने क्रेमलिनले बुधबार जनाएको छ । आगामी अक्टोबर ३१ देखि २१ नोभेम्बरसम्म स्कटल्याडको सबैभन्दा ठूलो सहर ग्लास्गोमा सम्मेलन हुँदैछ ।

राष्ट्रपति पुटिनले भाग नलिने कारणबारे क्रेमलिनले केही खुलाएको छैन । जलवायु परिवर्तन रुसको सबैभन्दा महत्वपूर्ण प्राथमिकता मध्ये एक भएको क्रेमलिनका एक प्रवक्ताले जनाएका छन् । पुटिनले उपस्थित नहुने निर्णयको कुनै आधिकारिक घोषण गरेका छैनन् । तर, सम्मेलनमा भाग नलिने आफ्नो निर्णयको पछाडि बेलायतमा बढ्दो कोरोनाभाइरस संक्रमण कारण रहेको उनले बताएका छन् ।

‘दुर्भाग्यवश, राष्ट्रपति पुटिन ग्लास्गो जानुहुने छैन’ क्रेमलिन प्रवक्ता देमित्री पेस्कोभले संवाददाताहरुसँग भने । उनले जलवायु परिवर्तन रुसी विदेश नीतिको एक महत्वपूर्ण मुद्दा रहेको समेत बताए । भौतिकरुपमा उपस्थित नभएपनि, भर्चुअल माध्यममार्फत भाग लिने सम्भावना रहेको जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सम्भवतः ग्लास्गो नजाने सम्भावना छ । तर, चिनियाँ अधिकारीहरुले नयाँ योजनाबारे केही खुलाएका छैनन् ।
जलवायु परिवर्तनसम्वन्धी उक्त विश्व सम्मेलनमा नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम छ । साथै अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायत नेताहरु सहभागी हुने छन् ।

प्रतिक्रिया