कोरोना महामारी अझै केही वर्ष लम्बिन सक्छ : डब्लुएचओ

जेनेभा । खोपमा गरिब मुलुकहरुको पहुँच हुन नसक्दा कोभिड–१९ महामारी अझै केही वर्ष लम्बिन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । डब्लुएचओका एक वरिष्ठ चिकित्सक डा. ब्रुस अलवार्डले कोभिड संकटले सन् २०२२ पनि प्रभावित हुने बताएका छन् । ४० प्रतिशत खोप लगाइसकेका अन्य महादेशको तुलनामा अफ्रिकी महादेशमा ५ प्रतिशत पनि खोप नलगाइएको डब्लुएचओले जनाएको छ ।

डा. अलवार्डले गरिब मुलुकहरुलाई धेरैभन्दा धेरै खोपको मात्रा उपलब्ध गराउन विकसित मुलुकहरुलाई आग्रह गरेका छन् । साथै, विपन्न मुलुकलाई खोपको प्राथमिकतामा राख्न उनले खोप उत्पादक कम्पनीलाई आग्रह गरेका छन् । जी–सेभेन लगायतका अन्तर्राष्ट्रिय बैठकमा गरिएका प्रतिबद्धताअनुसार खोप वितरण गर्न पनि डब्लुएचओले खोप उत्पादक मुलुकलाई आग्रह गरेको छ । एक तथ्यांकअनुसार अहिले खोपको बढी परिमाण बढी तथा मध्यम आय भएका मुलुकलाई दिइएको छ । विश्वमा लगाइएको कूल खोपको तुलनामा अफ्रिकामा मात्र २.६ प्रतिशत जनसंख्यालाई खोप लगाइएको छ ।

प्रतिक्रिया