१० वर्षका अवधिमा चितवनमा ३९ हजार घरपरिवार थपिए


चितवन । मध्य नेपालको ७८औँ जिल्लाका रूपमा चिनिएको चितवनमा बर्सेनि बसाइँसराइ गरी आउने क्रम बढ्दै गएको छ । आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षका अवधिमा ३९ हजार बढी घरधुरी थपिएका हुन् । ०६८ सालको जनगणनालाई आधार मान्दा जिल्लामा हाल ३९ हजार २ सय ३८ परिवार थप भएका हुन् । जिल्ला जनगणना कार्यालयका अनुसार जिल्लाका सात पालिकामा सुपरीवेक्षकले गरेको स्थलगत अध्ययनका आधारमा परिवार संख्यामा वृद्धि भएको हो । कार्यालय प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जनगणनामा एक लाख ७१ हजार ७ सय परिवारको गणना हुँदैछ । पछिल्लो जनगणनामा १ लाख ३२ हजार ४ सय ६२ परिवारको गणना भएको थियो । यहाँका पालिकामा समेत परिवार संख्यामा वृद्धि भएको पाइएको छ ।

सात पालिकामा नै परिवार संख्यामा वृद्धि भएको हो । उनका अनुसार भरतपुर महानगरपालिकामा ८७ हजार ४ सय ४२ परिवारको गणना हुँदैछ । यो अघिल्लो गणनाको भन्दा १८ हजार ४ सय ७ परिवारले वृद्धि भएको छ । यस्तै रत्ननगर नगरपालिकामा २३ हजार १ सय ५३ परिवारको गणना हुँदैछ । यस पालिकामा ७ हजार ८३ परिवार संख्यामा वृद्धि भएको छ । कालिका नगरपालिकामा १२ हजार ३ सय ३७ परिवारको गणना हुने कार्यालयले जनाएको छ । यस पालिकामा ३ हजार २ सय २१ परिवार थपिएका छन् । खैरहनी नगरपालिकामा ४ हजार ९ सय ३७ परिवार थप भएका छन् । यस पालिकामा १७ हजार २ सय ६८ परिवार रहेका छन् । राप्ती नगरपालिकामा १५ हजार १ सय १९ परिवारको गणना हुँदैछ । यस पालिकामा अघिल्लो गणनाभन्दा ३ हजार ६४ परिवार थप भएका हुन् ।

माडी नगरपालिकामा १० हजार १ सय ७८ परिवारको गणना हुने भण्डारीले जानकारी दिए । यस पालिकामा १ हजार २ सय १८ परिवार वृद्धि भएको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा ६ हजार २ सय ३ परिवारको गणना हुने उनले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा १ हजार ४ सय २५ परिवार थपिएका छन् । भूकम्पपछि पहाडी क्षेत्रबाट धेरै बसाइँसराइ गरी यहाँ आएकै कारण परिवार संख्या थप भएको अनुमान छ ।

कार्यालयले जनगणनाअन्तर्गत प्रथम चरणको घर तथा घरपरिवारको सूचीकरण कार्यका आधारमा यो तथ्यांक लिएको हो । पहिलो चरणमा २ सय १० जना सुपरिवेक्षकले ३० भदौदेखि १८ असोजसम्म स्थलगत अध्ययन गरी ल्याएको तथ्यांकका आधारमा १ लाख ४० हजार ७ सय ८० घरमा ती परिवार बसोबास गर्दै आएका छन् । ती परिवारमा आगामी २५ कात्तिकदेखि ९ मंसिरसम्म गणना हुँदैछ । गणनामा ८ सय ५७ जना गणक परिचालन हुँदैछन् । उनीहरूले ८ सय ४१ गणना क्षेत्रमा काम गर्दैछन् ।

अहिले गणनाका लागि गणक छनोटको अन्तिम तयारी भइरहेको छ । केन्द्रीय तथ्यांक विभागले छनोट गरेका गणकको प्रमाणीकरण र सक्कल काजगपत्र भिडाउने काम भइरहेको छ । १३ देखि १६ कात्तिकसम्म गणकको तालिम हुनेछ । एक जना सुपरीवेक्षकअन्तर्गत चार गणक रहने व्यवस्था गरिएको छ । एक जना गणकले २ सय ५० परिवारको गणना गर्नुपर्नेछ । एक परिवारमा गणकले ८० प्रश्न सोध्नेछन् । एक परिवारमा करिब ४५ मिनेट लाग्ने उनले जानकारी दिए । ०६८ सालको जनगणनाभन्दा अहिलेको नयाँ प्रविधिबाट गणना हुने भण्डारीले बताए ।

कार्यालय प्रमुख भण्डारीका अनुसार घर गणना, सामुदायिक प्रश्नावली, पुख्र्यौली भाषा, मातृ मृत्युदर, बैंक वित्तीय संस्थामा खाता रहेको नरहेको, ऋण लिएको नलिएको, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट तालिम लिएको नलिएको, कृषि गणनाका लागि आवश्यक तथ्यांक संकलन लगायतका तथ्यांक गणकले लिनेछन् । गणना सम्पन्न गर्नका लागि जिल्लामा रहेको ९८ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरी काम भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया