ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै कर्मचारीलाई हिलो दलेर नगर परिक्रमा गराइयो

जनकपुर । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले एकजना कर्मचारीलाई हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् । जनकपुरधाम उपमहानगरपालिका भित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवाहलाई बिहीबार दिउँसो शरीरमा हिलो र मोसो दलेर नगर परिक्रमा गराइएको हो ।

डा. राउतको सचिवालय अनुसार एक महिना पहिले नगरप्रमुख लालकिशोर साह र खानेपानी कार्यालयलाई ध्यानाकर्षण गराइएको थियो । आफ्नो मुद्दालाई बेवास्ता गरेको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले ‘कारबाही’स्वरूप हिलो दलेर नगर परिक्रमा गराएका हुन् ।

पार्टीले नगरप्रमुख साहलाई पनि हिलो दलेर नगरको दुर्दशा देखाउने कार्यक्रम तय गरेको थियो । तर, नगरप्रमुख कार्यालयमा अनुपस्थित भए । कर्मचारी कुशवाहलाई अर्धनग्न बनाएर नगर परिक्रमा गराइएको थियो । त्यसक्रममा सहभागी नेता–कार्यकर्ताहरूले प्रदेश सरकार र स्थानीय सरकाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया