रश्मिका फोब्र्सको प्रभावशाली कलाकार

मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानले आफ्नो खातामा नयाँ उपाधि थपेकी छन् । उनी आफ्नै सहकर्मीलाई उछिन्दै फोब्र्सको प्रभावशाली कलाकारको सूचीमा पहिलो बनेकी हुन् । रश्मिकाले विजय देवराकोन्डा, सामान्था रुथप्रभु र कन्नड स्टार यशलाई पछि पारेकी हुन् । सामाजिक सञ्जालमा कुनै पनि कलाकारले पाएको लाइक, कमेन्ट, इंगेजमेन्ट, भिडियो भ्युज आदिका आधारमा फोब्र्सले यो सूची जारी गरेको हो । अभिनेत्री रश्मिकाले यी सबै विधामा बाँकी कलाकारलाई पछि पारेकी हुन् । सामाजिक सञ्जालमार्फत कुनै पनि कलाकारले पारेको प्रभावलाई ‘क्युरोज स्कोर’ मा अधिकतम १० अंकलाई आधार मानेर तयार गरिएको हो । यसरी निकालिएको औसतमा रश्मिकाले ९.८८ अंक प्राप्त गरेकी हुन् भने उनीभन्दा थोरै कम विजय देवराकोन्डाले प्राप्त गरेका हुन् । उनले ९.६७ अंक पाएका थिए ।

यस्तै, ‘केजीएफ’ स्टार यशले ९.५४ अंक प्राप्त गरेका छन् भने अभिनेत्रीतर्फ यो सूचीमा भर्खर नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेकी अभिनेत्री सामान्थाले ठाउँ पाएकी छन् । उनले ९.४९ अंक प्राप्त गरेकी हुन् । अभिनेता अल्लु अर्जुनले समेत ९.४६ अंक प्राप्त गर्दै सूचीमा अटाएका छन् । कन्नड चलचित्र ‘किरिक पार्टी’ बाट अभिनय यात्रा थालेकी रश्मिकाले छोटो समयमै सफलता हासिल गर्न सकेकी हुन् । तेलुगु र कन्नड चलचित्रमा बढी देखिँदै आएकी अभिनेत्री रश्मिका चाँडै बलिउड चलचित्रमा देखिँदैछन् ।

अभिनेत्री सिद्धार्थ मल्होत्रासँगको ‘मिसन मज्नु’ बाट बलिउड डेब्यु गर्न गइरहेकी उनले अभिनेता अमिताभ बच्चनसँग ‘गुडबाई’ समेत काम गर्दैछन् । दक्षिण भारतीय सेलेब्रेटीलाई मात्र लक्षित गरी निकालिएको सूचीमा करोडौँ प्रशंसक भएका अभिनेता विजय, अभिनेत्री नयन तारा र अजित लगायतका कलाकार भने छैनन् किनकि उनीहरू सामाजिक सञ्जाल नै चलाउँदैनन् ।

प्रतिक्रिया