मौलिकता हराएको दसैँ र दसैँको राजनीति !

निनाम कुलुङ ‘मंगले’

नेपालमा सयभन्दा बढी जातजाति छन् । हरेक जातजातिका आ–आफ्ना मौलिक चाडपर्वहरू छन् । तथापि बडादसैँ, इन्द्रजात्रा, भोटो जात्रा लगायतका केही चाडपर्व मनाउन राज्य आफैं सक्रिय भएको देखिन्छ भने अधिकांश चाडपर्वहरू सम्बन्धित जातजाति तथा समुदायले आफ्नै ढंगले मनाउँछन् । अझ दसैँ मनाउन न कुनै बेला राज्यले सबै जातजाति तथा समुदायलाई निर्देशन नै दिने गरेको इतिहाससमेत छ । मूलतः दसैँ हिन्दूधर्मशास्त्र अनुसारको चाड हो । तर, नेपालमा जसरी अरू देशका हिन्दूहरूले दसैँ मनाउने गरेको पाइन्न । अन्य देशका हिन्दूहरूले दसैँलाई सामान्य चाडका रूपमा लिने तर नेपालमा भने सबैभन्दा ठूलो चाडका रूपमा मनाइनुको मुख्य कारण राजनीति हो भन्ने कुरा इतिहासविद्हरूले समेत स्वीकारेका छन् । यसमा खासै विवाद छैन ।

हिन्दु धर्मशास्त्रअनुसार चार वर्ण छन् । जसमध्ये व्राह्मणको मुख्य चाड जनैपूर्णिमा (ऋषितर्पणी), क्षत्रीको मुख्य चाड दसैँ, वैश्यको मुख्यचाड तिहार र शुद्रको मुख्य चाड फागुपूर्णिमा मानिन्छ । छिमेकी मुलुक भारतमा यसै अनुसार चाडपर्व मनाएको देखिन्छ । तर, नेपालका सन्दर्भमा क्षेत्री मात्रै होइन । ब्राह्मण, वैश्य र शुद्रहरूले समेत दसैँलाई मुख्य चाडमा रूपमा मनाउने गरेको पाइन्छ । यति मात्रै होइन, यो चार वर्णभन्दा बहिर पनि नेपालीहरूको संख्या उल्लेख्य छ, करिब ३५ प्रतिशतको हाराहारीमा होला । उनीहरूका लागि पनि राज्यले दसैँलाई मुख्य चाड बनाइदिएको छ । यसको मुख्य कारण राजनीति हो भन्ने कुरा इतिहासविद् महेशराज पन्तले समेत स्वीकारेका छन् ।

०६५ सालसम्म नेपाल राजतन्त्रात्मक देश थियो । त्यतिबेलासम्म राजा र राज्य एकअर्काका पर्यायवाची रूपमा मानिन्थे । त्यसैले राजाको मुख्य चाड दसैँ राज्यको पनि मुख्य चाड हुन पुग्यो । मल्ल राजाहरूले आफ्नो धुमधामका साथ दसँै मनाउँथे । भौगोलिक एकीकरणपछि गोरखाका राजा पृथ्वीनारायण शाहले त्यसैलाई निरन्तरता दिए । राजाले दसैँ मनाउनु भनेको सम्पूर्ण देशले दसैँ मनाउनु हो भन्ने उर्दी नै जारी भयो । जहाँ जहाँ राज्य प्रशासनका अंगहरू पुगे त्यहाँ त्यहाँ हतियार पूजा गरेर दसैँ मनाउन थालियो । राई, जिम्मुवाल, मुखिया, चौधरी लगायतका पद्वी दिएर स्थानीय शासन चलाउन तैनाथ गरिएकाहरूले राजाले जस्तै अझै भव्य रूपमा दसैँ मनाउने क्रम बढ्यो । दसैँ भव्यताका साथ मनाइएको सन्देश दिएर राजालाई खुसी बनाउन स्थानीय सामान्तहरूले कुनै कसर बाँकी राखेनन् । गैर हिन्दू नेपालीहरूले पनि आफ्नै ढंगले भव्यताका साथ दसैँ मनाउन थाले ।

तर, संयोग हो या राजतन्त्र तथा सामन्ती प्रथा मासिएकोे कारण हो हिजोआज दसैँको रौनक पहिलेको जस्तो छैन । सूचना प्रविधिका कारण मनोरञ्जनका अन्य साधनहरूको प्रभावले पनि दसैँ, तिहार लगायतका चाडपर्वको मौलिकता हराउँदै गएको हुनसक्छ ।
आजभन्दा ३०/३५ वर्ष पहिले हामी केटाकेटी छँदा दसैँ आउनुअघि बाटोघाटो, गोरेटो सफा गथ्र्यौ । घर लिपपोत गर्ने गथ्र्यौं । कुवा, धारा, पँधेरो सफा गथ्र्यौं । लिंगे पिङ, रोटेपिङ, जाँतेपिङ लगाउँथ्यौँ । हुन त हाम्रो जमानामा नयाँ लुगा लगाउने बहाना पनि त्यही दसैँ चाड नै थियो । बाजेबजैले केही नभए पनि आशीर्वादसँगै २५ पैसा, ५० पैसा दक्षिणा पनि दिनुहुन्थ्यो । अरू वेला महिना दिन वा दुई, तीन महिनामा मासुभात खान पाइन्थ्यो भने दसैँमा लगातार तीन÷चार दिनसम्म मासुभात खान पाइन्थ्यो । दसैँ लगत्तै आफन्त र नातागोता (खासगरी मावली जाँदा) अतिरिक्त मासुभात खान पाइन्थ्यो । आजभोलि त जमाना अर्कै भएको छ, मासुभात खान महिनौँ कुर्न परेन । नयाँ लुगा लगाउन पनि दसैँ नै आउनु परेन । एउटै लुगा वर्षदिन कटाउनु झनै पर्दै परेन । बास खाली पैसो चाहियो । मासुभात खान र नयाँ लुगा जतिखेर पनि पाइन्छ ।

तर नेपालमा विगत लामो समयदेखि नै दसैँ चाड हिन्दू धर्मालम्बीहरूको मात्रै हो कि ? सम्पूर्ण नेपालीहरूको ? अनि वास्तवमा दसैँ कसको हो ? भनी अनेक खाले बहस, छलफल र तर्कवितर्कहरू भइ नै रहेको छ । अझ आजभोलि त यसबारेमा भुइँतहबाटै व्यापक रूपमा बहस र छलफल भइरहेको छ । साँच्चै दसैँ कसको चाड हो ? वा भनौँ नेपालका कुनकुन जातजाति, समुदाय या वर्गहरूको चाड वा पर्व हो ? भनी विगतमा भन्दा बढ्तै अथवा भनौँ सघन ढंगले छलफल र बहस चलिरहेको देखिन्छ । जुन बहस र छलफललाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । नेपाल १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र नौ धर्मावलम्बीहरू रहेको देश हो ।

यसरी हेर्दा दसैँ नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरूको चाड वा पर्व हो ? किटेर यसै भन्न नसकिने भएको छ । किनभने, कोही दसैँ चाड हिन्दुहरूको मात्रै त्यसमा पनि क्षेत्री (शासक)हरूको हो भनेर इतिहासविद् महेशराज पन्त नै भन्छन् । कोही कोही वास्तवमा दसैँ हिन्दूहरूको चाड पनि होइन, भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दसैँ–तिहार हिन्दूहरूको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख लेखेका थिए । उता १२ असोज ०७६ मा एक दैनिक पत्रिकामा डा. मदन रिमालले पनि ‘हिन्दूको मात्रै होइन दसैँ’ शीर्षकमा अर्को लेख लेखेका थिए । त्यस्तै एक जना ‘राई !’ सरलेचाहिँ ‘दसैँ किराती राई ! हरूको चाड’ भनी एक अनलाइनमा लेख लेखेका थिए । यसरी हाल आएर दसैँ चाडबारे नेपालमा खुबै बहस र छलफल भइरहेको छ । दसैँ कसको, कसको होइन ? भन्नेमा पनि गलफत्ती भई रहेको छ, भई नै रहनेछ । यसरी दसैँ चाड कुन–कुन जात, समूह, वर्ग र जाति वा समुदायको हो ? भनी लामो समससम्म बहस र छलफल गर्ने क्रममा विभिन्न तथ्य, तर्क, प्रमाण, आधार, उदाहरण दिने वा भनौं प्रस्तुत प्रयास पनि जारी नै छ । यसलाई एक हिसाबले हामीले रामै्र मान्नुपर्ने हुन्छ ।

तर, खासखास तथ्य, प्रमाण, उदाहणहरू र परम्परा आदि हेर्दा दसैँ भनेको बिना कुनै धकचक हिन्दू धर्माबलम्बीहरूको महान चाड हो ! भन्न सकिन्छ । जस्तै आर्य र खस समूहका मान्छेहरूले (खासगरी बाहुन क्षेत्रीहरूले) दशमीको दिन रातो रंगले मुछेको चामलको टिको लगाउँछन् भने, उनीहरू दशमीलाई ‘विजयादशमी !’ भन्छन् । जो आदिवासी जनजातिहरूले वाध्यताले वा रहरले दसैँ मनाउँथे/मनाउँछन् । तर, उनीहरूले बाहुन–क्षेत्रीले जस्तो रातो टीको नलगाएर दहीले मुछेको ‘सेतो टिको !’ लगाउने गर्छन् भने कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदि जातिले त विगतदेखि नै दसैँ मनाउँदैन थिए
मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ । त्यति मात्रै होइन, हिन्दूहरूले मर्यादापुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा (पहिलेपहिले गाउँघरमा चैते दसैं भन्ने गरिन्थ्यो । किनभने, चैत महिनामा सो दसैँ मान्ने गरिन्थ्यो) अहिले पनि गाऊँघरमा सो तिथिलाई चैते दसैँ नै भन्ने गरिन्छ ।

देशमा गणतन्त्र आएको, देश धर्मनिरपेक्ष भएको संकेत गर्छ ? सायद ०७२ असोजमा जारी भएको नेपाल र दक्षिण एसियाकै उत्कृष्ट संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको … ’ भनी व्याख्या थप्नु वा भनौँ प्रस्टीकरण दिनुको कारण हाल खुल्दै छ । ०६२÷६३ मा जनताको बलमा भएको अभूतपूर्व राजनीतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दू जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्मनिरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैm पनि विभिन्न कार्यक्रमहरूमा पाँच जना बाहुन (बटुक भनिन्छ होला) ! हरूलाई मात्रै मन्त्रोच्चारण गराइन्छ । त्यो पनि नेपालमा कुनै पनि जात वा जातिले मातृभाषाका रूपमा नबोल्ने संस्कृत भाषामा । के देश धर्मनिरपेक्ष भएको प्रमाण यही हो ? कि भने माथि उल्लेख गरिएभैंm नेपालका अन्य धर्माबलम्बीका प्रतिनिधिहरूलाई पनि समावेश गरेर हरेक कार्यक्रममा गर्नुपर्यो । ! किनभने, त्यसो गर्दा सबै धर्माबलम्बीहरूलाई समेटिएको देखिन्छ भने समावेशी पनि देखिन्छ । हुन त यो देशमा स्वघोषित विद्वानहरू नभएका होइनन् । तर, उनीहरूले पनि यस विषयमा खासै कुरा उठाउँदैनन् । हुन त राज्यको स्रोत, साधन, पहँुच र मिडियाहरू पनि उनीहरूकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समावेशीता, धर्मनिरपेक्षतालगायत उत्पीडितहरूको पक्षमा खासै वकालत गर्दिने मान्छेहरू वा भनौं विषय विज्ञ, विद्वान, प्राडा, विश्लेषक, लेखक, पत्रकारहरू भेटिदैनन् ।

जे होस्, दसैँ–तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले नेपालको भौगोलिक एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरूलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरूलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरू दिए । साथै हिन्दू धर्म अनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरूलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरूले पनि हिन्दू धर्म मान्नुपर्ने र, रैती अर्थात् ज्यामी, जमी वा जिमीहरूलाई पनि बडादसैंमा टीको–जमरो लगाइदिएर हिन्दू धर्म मान्नै पर्ने वाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणको रूपमा धेरै उदाहरणहरू दिन सकिन्छ । तर, यो पंक्तिकार लिम्बुको भाञ्जा र हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकोको बली दिएर मौलोको वरिपरि तीन फन्को घुमाइन्थ्यो । त्यसरी घुमाइसकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनु हुन्थ्यो । बालापन न हो, हामीलाई कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाइएला, टन्न मासु भात खान पाइएला, रोटेपिङ खेल्न पाइएला, बजार जान पाइएला र, रमाइलो गर्न पाइएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाडांै आएर केही बुझ्ने भएर गाउँ फर्कंदा (०४६ को परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो, ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ।’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डित प्रति लक्षित थियो ।

त्यसैले नेपालजस्तो १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मावलम्बी बसोवास गरेको देशमा हिन्दू धर्म नै राष्ट्रिय चाड हुन सक्छ कि सक्दैन ? अभैm पनि व्यापक रूपमा बहस र छलफल हुनुपर्छ । साथै तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजातिलगायत जात जातिका मान्छेहरूले मान्ने र उनीहरूका चाडबाड, संस्कार–संस्कृतिहरूलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय चाडको रूपमा मान्यता दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया