खोजखबर

अहिलेको सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्छ : मन्त्री झाँक्री

सौर्य अनलाइन २०७८ कार्तिक २ गते ९:०७ मा प्रकाशित

रामपुर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताइन् ।

वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उनको भनाइ थियो । अध्यायदेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्दै मन्त्री झाँक्रीले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन् ।

नेकपा (एकीकृत समाजवादी) की नेतृसमेत रहनुभएकी मन्त्री झाँक्रीले युवाहरूको सहभागितामा देशैभरि पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिँदै अघि बढ्नकै लागि राजनीतिक गठबन्धन भइहेको र पार्टी–पार्टीबीचको गठबन्धनले निरन्तरता पाइरहने बताइन् ।

आफू तीन दिन मात्रै मन्त्रालय गएको र मन्त्रालयका विषयमा थप जानकारी लिन नपाएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै आफ्नै बहुमतको सरकार हुँदासमेत ओलीले सुशासनभन्दा कुशासन दिने काम गरेको मन्त्री झाँक्रीले आरोप लगाइन् । रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय