काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले फाइनलको दोस्रो हाफमा तालमेल नमिल्दा महत्वपूर्ण इतिहास बनाउन चुकेको बताएका छन् । माल्दिभ्समा सम्पन्न साफको उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै किरणले २८ वर्षपछि फाइनल पुगेर इतिहास रचे पनि फाइनलमा चुक्दा एउटा महत्वपूर्ण इतिहास गुमाएको बताए ।
‘सुरुआतबाटै गार्हो थियो । तर, हामीले यात्रा सुरु गर्यौं। २८ वर्षपछि फाइनल पुगेर इतिहास रच्यौं । तर, फाइनलमा हामी चुक्दा एउटा महत्वपूर्ण इतिहास गुमायौं,’ उनले भने, ‘मानसिक रुपमा हामीले उनीहरुलाई बलियो छ भनेर लियौं जस्तो लाग्यो । हामीले पहिलो हाफमा राम्रो गरेका थियौं। दोस्रो हाफको पाँच मिनेटमा हामीले खेल गुमायौं ।’
कप्तान किरणले २८ वर्षपछि फाइनल पुग्नु पनि ठूलो उपलब्धि रहेको बताए । मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपालले साफको उपविजेतामा चित्त बुझायो । कप्तान किरणले प्रतियोगितामा टिमको प्रदर्शनबाट सन्तुष्ट भएको प्रतिकृया दिएका छन् ।
प्रतिक्रिया