बाग्मती प्रदेशमा आजदेखि बढ्याे सार्वजनिक सवारीको भाडा

काठमाडाैं । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बढाएको भाडादर आजदेखि लागू भएको हो । यससँगै काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडादरमा पनि वृद्धि भएको छ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको थियो । उक्त भाडादर आजदेखि लागू भएको हो ।

काठमाडौं उपत्यका बाहिरका जिल्लामा २३ प्रतिशतका दरले भाडा वृद्धि गरेको थियो । तर काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाइएको छ । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको न्युनतम भाडा १८ रुपैयाँ तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्ममा लागू हुनेछ र त्यसमाथि जति बढी किलोमिटर हुँदै जान्छ उति नै भाडा पनि बढी लाग्छ ।

अब उपत्यकाभित्र यात्रुले ५ किलोमिटरसम्मको यात्रा गर्दा न्युनतम भाडा रु १८ तिर्नुपर्नेछ भने १० किलोमिटरसम्मकाे यात्रामा २३ रुपैयाँ लाग्नेछ । यसैगरी १५ किलोमिटरसम्म २७ रुपैयाँ र २० किलोमिटसम्म ३० तथा २० किलोमिटर भन्दा माथि ३५ रुपैयाँ भाडा कायम गरिएको छ ।

प्रतिक्रिया