राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारी विवाह बन्धनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् । विनोदले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । उनीहरूले असोज ६ गते ‘इन्गेजमेन्ट’ गरेका थिए । दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । विनोद र सोनिका चार वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए ।

उनले १६ मार्च २०१४ मा हङकङविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । विनोदले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई अर्धशतकसहित ३१९ रन बनाइसकेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक अर्धशतकसहित २२५ रन बनाइसकेका छन् ।

प्रतिक्रिया