बेथिति, विसङ्गति र अपसंस्कृतिको पोल खोलेकाे ‘यात्रा’ विमोचन

काठमाडौं । नवकविका रूपमा उदाएका खगेश्वर कोइरालाको कविता संग्रह ‘यात्रा’ विमोचन भएको छ । बिहीबार झापाको धनुसमोडमा आयोजित एक समारोहमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोइरालाको कविता संग्रह विमोचन गरेका हुन् । कोइरालाले यस कविता सङ्ग्रहमा निजामति सेवाको सिलसिलामा देशका विभिन्न स्थानमा देखिएका बेथिति, विसङ्गति र अपसंस्कृतिको पोल खोलेका छन् ।

२००१ साल चैत २४ गते भोजपुर दावाँमा जन्मिएका कोइरालाको अधिकांश समय निजामती सेवामा बित्यो । राष्ट्रसेवासँगै उनले भद्रपुरबाट प्रकाशित हुने विवेचना साप्ताहिकमा नियमित रूपमा स्तम्भकारका रूपमा देखेभोगेका कुरा लेखे । उनका कविता गोरखापत्र तथा कान्तिपुर दैनिकमा पनि बेलाबेलामा प्रकाशित हुन्थे । उनका फुटकर कथा तथा निबन्धसमेत प्रकाशित छन् । यद्यपि कविका रूपमा आधिकारिक र सार्वजनिक चिनारी भने यस पुस्तकले दिएको छ । हाल उनी झापाको भद्रपुर नगपालिकाको चन्द्रगढी बस्दै आएका छन् ।

प्रतिक्रिया