तत्काल निर्वाचनमा जानुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२२ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले पार्टीको १४औँ महाधिवेशनलाई चाँडो सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

‘सरकार गठनमा स्वतन्त्र न्यायपालिकालाई जोड्नु लोकतन्त्रका लागि गम्भीर कुरा हो,’ उनले भने । पार्टीका पूर्वमहामन्त्री सिंहले आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक सभापतिका लागि उम्मेदवार हुन चाहेको बताए । नेता सिंहले कांग्रेसभित्र नेतृत्व गर्ने अवसर एकपटक काठमाडौंले पाउनुपर्ने उल्लेख गरे ।

राजनीतिलाई सेवाका रुपमा लिनसमेत उनले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले कांग्रेसभित्रको कमजोरीका कारण नेपालका कम्युनिष्ट सत्तामा पुग्ने अवसर पाएको भन्दै आगामी दिनमा कांग्रेसले यस्तो कमजोरी दोहोर्याउन नहुने उल्लेख गरे ।

प्रतिक्रिया