मत-विमत

कृषि र किसानको अपहेलना र तिरस्कार कहिलेसम्म ?

सौर्य अनलाइन २०७८ असोज २४ गते ८:४७ मा प्रकाशित

लोकनारायण सुबेदी

हामी मौसम अनुकूल हुँदा धानबालीलगायत बालीनाली सप्रिने, राष्ट्रिय आम्दानी (जिडिपी) बढ्ने, अर्थतन्त्र सामान्य सुध्रिने र अनुकूल नहुँदा ती सबै कुरा बिग्रने स्थितिभन्दा माथि उठ्न कदापि सक्ने छैनौँ । अनि आजसम्मको कृषिप्रति गर्ने गरिएको अपहेलना र तिरस्कारकै निरन्तरताबाहेक थप अरू केही बिल्कुलै हुनेछैन । त्यसैले आज किसान वर्ग नै कृषिको चौतर्फी समुन्नति, प्रगति र आमूल परिवर्तनका लागि पहिलेभन्दा जागरूप, संगठित र संघर्षशील हुनुको कुनै विकल्प छैन ।

कृषि कर्म मानव जीवनको विकल्परहित आधारभूत कर्म हो । कृषिले दिने ऊर्जाले नै मानिसको जीवन चलेको छ र गुजारा भएको छ । तर, यसलाई हामीकहाँ सामान्य, गाउँले गवार किसानहरूको उपेक्षित र तिरष्कृत कर्म जस्तै मात्र मानिएको छ र व्यवहार गरिएको छ । फलतः यसले पाउनुपर्ने प्राथमिक स्थान, सम्मान र शतत सहयोग पाउनबाट यो कर्म वञ्चितजस्तै छ । कतै पाएको छ भने पनि त्यो पनि व्यापारिक र नाफाको एउटा बजार दृष्टिकोणले मात्र पाएको छ । स्वयं कृषि र किसानको समग्र हित हुने किसिमले कतै पाएको छैन ।

शब्दावली पदावलीहरू जे सुकै प्रयोग गरिएका हुन् ती किसानबाट अलग्गिएका बजारसँग जोडिएका र मुनाफाका साधन बन्ने गरी बनाएका जस्ता लाग्दछन् । प्रकृतिपछिको यो मानव निर्मित अर्थात श्रमजीवी किसानहरूले निर्माण गरेको यो दोस्रो प्रकृति खाद्यान्न, पक्वान्न, मिष्टान्नअन्न, सागपात, फलफूल, दूध, माछा, मासु जुन रूपमा भए पनि ती प्रचीन, आधुनिक या अत्याधुनिक कलकारखानाका उपज बिल्कुलै होइनन् र हुन पनि सक्तैनन् । तिनलाई दोस्रो प्रकृति –प्रकृतिका नियमहरूको नियमित अनुपालन गरेर गरिने प्रकृतिसँग जोडिएको जीवन्त कर्म मान्नु पर्दछ । यो कृषिको अभावमा अरू जतिसुकै अत्याधुनिक धेरै नाफा कमाउने विशालकाय उद्योगधन्धाहरू नै किन नहुन् तिनको कतै केही चल्दैन, हलचल बन्द हुन्छ । ती मृतप्रायः बन्छन् र सकिन्छन् । त्यसैले कृषिलाई जीवनदायिनी कर्म र किसानलाई जीवनदायिनी शक्ति भनिएको र मानिएको हो ।

तर, किसानले आपूmलाई त्यस्तो शक्ति मान्दैन, मान्न दिइएको छैन । उसले आपूmलाई काम नलाग्ने धन्धा गर्न अभिशप्त गवार, गाउँले, अशिक्षित रातो दिन झरी बादल, घाम खडेरी, हावा हुरीसँग खेल्ने एउटा कमजोर र छरपस्ट जमात मान्दछ । त्यस्तै मान्ने बनाइएको छ । उसले आजका सबै ‘सभ्य’ मानिने र ठानिने सहरवासी, नगरवासीहरूलाई कृषि उपजहरूको आपूर्ति गर्दछ । त्यो अकिञ्चन जमातले आफ्नो कर्म गर्न छोड्यो भने कथित सभ्यहरूको अस्तित्व नरहने कुरा उनीहरूले सोचेकै छ्रैनन्, सोचेकै हुँदैनन् । तिनमा रहेको निष्कपट उच्च मानवीयताले उनीहरूलाई त्यस्तो सोच्ने कुनै कुसंस्कार दिएकै छैन । बरु त्यसको विपरीत ती प्रकृतिसँग खेल्ने, त्यसैमा रमाउने र अधिकांशतः अबोध प्राणीहरू नित्य निरन्तर कृषि कर्ममा लागेका हुन्छन् । प्रकृति अनुकूल भइदियो भने खुसी हुन्छन् । प्रतिकूल भइदियो भने पनि त्यसको सामना गर्न उनीहरू बाध्य छन् । रुन्छन्, कराउँदछन्, छाती पिट्छन् र फेरि सम्हालिँदै प्रकृतिकै काखमा हिलो, धूलोसँग खेल्छन् । यो साल बिग्रियो अर्को साल कसो नबन्ला भनेर आशावादको स्वप्नमय संसारमा डुब्छन् । यो तिनको नित्य कर्म हो रहँदै आएको छ ।

हो, हाम्रो समाज पनि एक जमानामा उत्तम खेती, मध्यम ब्यापार, नीच नोकरी मान्ने प्रचलन थियो । त्यसैले समाजले त्यतिबेला कृषिलाई सर्वोपरी स्थानमा राखेको कुरा यसबाट प्रष्ट हुन्छ । तर, आज त्यसको ठीक विपरीत कृषि कर्म सबैभन्दा नीच, ब्यापार मध्यम नै र नोकरी सर्वोत्तम बन्न पुगेको छ । कृषिजस्तो आधारभूत कर्मलाई आधारभूत स्थान दिइएको त्यो जमानाको सही कुरालाई आज पनि पुनस्र्थापना गरेर कृषि कर्म र किसानलाई चौतर्फीरूपमा सहयोग गरेर उन्नत तुल्याउन सकिएन भने मानव अस्तित्व नै ठूलो संकटमा पर्ने कुरा दिनप्रतिदिन सन्निकट हुँदै गइरहेको छ । आजको विश्वको बढ्दो जनसंख्या र जमिनको धान्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी) र कृषिले दिने समग्र उत्पादन अपुग हुने स्थितिको आँकलन गरेर नै संयुक्त राष्ट्र संघले पनि अरू धेरै खान हुने स्रोतहरू (एडिबल्स) अहिले अस्तित्वमा भइरहेका बाहेक अरू थप झारपात, बोट बिरुवा, पशुपंक्षी समेतलाई खाद्य बस्तुमा जोड्न बाध्य बनेको देखिँदैछ । यसले पनि कृषिको विश्वब्यापी महत्व, आवश्यकता तथा बढ्दो औचित्य र ज्वलन्त आवश्यकतालाई थप दर्शाउँदछ ।

त्यसैले हाम्रो कृषि क्षेत्रमा सरकारी स्तरमा रहेको व्याप्त भ्रष्टाचार र कमिसनखोरीको महाजाल तथा किसान चूसाहा प्रवृत्तिलाई समाप्त पारेर कृषि र किसानमा नयाँ आशा र विश्वासको सञ्चार गर्न यो कृषिलाई आकर्षक तुल्याउने किसिमले अघि बढ्नुपर्ने आवश्यकता आज टड्कारो छ । यस सन्दर्भमा भूमिसँग जोडिएको असमान वितरण, स्वामित्व र भू–उपयोगको समस्या, उत्पादकत्वको समस्यालाई हल गर्नुपर्ने पहिलो सर्वोपरी आवश्यकता छ । यसैलाई विगतदेखि नै वैज्ञानिक क्रान्तिकारी भूमिसुधार भनिँदै आएको हो । यसका अतिरिक्त अर्कोतिर कृषिलाई दिगो र उत्पादनशील तुल्याइराख्न किसानलाई लाभकारी मूल्य प्राप्त हुने किसिमको सुनिश्चित बजार व्यवस्थापन, क्षतिपूर्तिको व्यवस्थाका साथ उन्नत र गुणस्तरीय प्रांगारिक मल, बिऊ, निरन्तर सिँचाइ प्रविधिको उपाय, रोग किरा लाग्न नदिने र लागि हालेमा नियन्त्रण गर्ने जैविक प्रविधिको उन्नत उपाय अबलम्बन गरिनु अत्यावश्यक छ ।

यी सबै कार्यका लागि जल–ऊर्जा शक्ति किसानको प्राथमिकतामा पर्नुपर्दछ र कृषि, वन वातावरणलाई जोगाउन विद्युत्को उपयोग गर्ने गरी मूलतः आन्तरिक खपतका लागि विद्युत् उत्पादन कृषिसँगै जोडिएको अर्को महत्वपूर्ण र आधारभूत राष्ट्रिय कदम हो । अन्यथा हामी मौसम अनुकूल हुँदा धानबालीलगायत बालीनाली सप्रिने, राष्ट्रिय आम्दानी (जिडिपी) बढ्ने, अर्थतन्त्र सामान्य सुध्रिने र अनुकूल नहुँदा ती सबै कुरा बिग्रने स्थितिभन्दा माथि उठ्न कदापि सक्ने छैनौँ । अनि आजसम्मको कृषिप्रति गर्ने गरिएको अपहेलना र तिरष्कारकै निरन्तरताबाहेक थप अरू केही बिल्कुलै हुने छैन । त्यसैले आज किसान वर्ग नै कृषिको चौतर्फी समुन्नति, प्रगति र आमूल परिवर्तनका लागि पहिलेभन्दा जगरुप, संगठित र संघर्षशील हुनुको कुनै विकल्प छैन । कोभिड–१९ महामारीले कृषिमा ध्यान केन्द्रित गर्न विश्वव्यापीरूपमा ध्यानाकर्षण गरिरहेको सन्दर्भमा यी कुराहरूलाई गम्भीर र गहनरूपमा मनन गर्न सकियो र सिकियो भने मात्र मुलुकलाई सही दिशामा अग्रसर तुल्याउन सकिन्छ । यसको यो भन्दाबाहेक अरू कुनै विकल्प पनि छैन ।

यसै सन्दर्भमा बिर्सन नहुने अर्को पाटो पनि छ । जनसंख्या वृद्धि र भोकमरीले खाद्यान्नको गुणस्तरभन्दा पनि परिमाणलाई बढाउन खोजिरहँदा, मानिसहरू आधुनिक (रासायनिक) कृषि अपनाउँदै आएका छन् । यस प्रविधिले सुरुका केही वर्ष राम्रो उत्पादन दिएता पनि पछि लागत र मिहिनेत बढाउँदै जानुपर्ने र वातावरण मैत्री नहुँदा प्राकृतिक पद्धतिलाई र मानव स्वास्थ्यलाई समेत असर पार्छ । यसरी माटोको उर्वराशक्ति, माटोमा पाइने सुक्ष्म जीवाणु, प्राकृतिक पद्धति र मानव स्वास्थ्यलाई पर्ने असरलाई बेवास्ता गर्दै गरिने आधुनिक कृषि प्रणाली कतिको दूरदर्शी छ त ? जब हामीले खाने खानामा विषादी छ, सास फेर्न दूषित हावा बहन्छ, पर्यावरण नै दूषित छ भने हामी स्वस्थ रहन कसरी सक्छौँ ? रासायनिक खेतीले गर्दा निम्त्याएको समस्यालाई निराकरण गर्न प्रांगारिक खेतीलाई एउटा उचित विकल्पको रूपमा अपनाउन सकिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय