भारतमा गृहमन्त्रीका छोराले गरे आत्मसमर्पण

इलाहावाद । लखिमपुर हिंसाको सातौ दिन मुख्य आरोपी आशिष मिश्रले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । रुमालले मुख छोप्दै अपराध महाशाखा पुगेर उनले आत्मसमर्पण गरेका हुन् । उनी भारतका केन्द्रीय गृहमन्त्री अजय मिश्रका छोरा हुन् । मिडिया रिपोर्टका अनुसार १२ वटाभन्दा धेरै पेन ड्राइव बोकेर आशिष प्रहरीसमक्ष पुगेका हुन् । यी पेन ड्राइभमा रहेका भिडियोहरूले उनी घटनाको दिन कहाँ थिए भन्ने प्रमाणित गर्छ । उनले आफु घटनास्थलमा नरहेको र घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । आशिषसँग सोध्नका लागि प्रहरीले पनि झन्डै ४० वटा प्रश्नहरु तयार गरिसकेको छ ।

भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्ला कार्यालयबाट झन्डै ७५ किलोमिटर टाढा नेपालको सीमा नजिकैको तिकुनिया गाउँमा गत आइतबार हिंसा र आगलागी हुँदा ८ जनाको मृत्यु भएको थियो । यस गाउँमा रहेको एक स्कुलको कार्यक्रममा सहभागी हुन केन्द्रीय गृहमन्त्री अजय मिश्रा आएका थिए । त्यहीक्रममा किसानहरुले पनि कालो झन्डा देखाउँदै उनको विरोध गरे । त्यसक्रममा मन्त्रीसँगै आएका गाडीहरु धर्नामा बसेका किसानहरुलाई किचेर तेजसँग अघि बढे । चारजनाको किसानको यसक्रममा ज्यान गयो भने एक दर्जनभन्दा धेरै घाइते भए । त्यस्तै, दुईजना बिजेपीका कार्यकर्ता र दुईजना ड्राइभरको पनि मृत्यु भयो ।

गृहमन्त्रीका छोरा आशिष मिश्रामाथि धर्नाकारीलाई गाडीले कुल्चिएको र एकजना किसानमाथि गोली हानेको आरोप छ । यस घटनाको समाचार कभरेज गर्नेक्रममा साधन न्युज च्यानलका संवाददाता रतन कश्यपको पनि मृत्यु भएको थियो । गाडीमा ठक्कर खाएपछि उनी सडक किनारमा रहेको पानीमा डुबेका थिए ।

प्रतिक्रिया