नेप्से ४ महिना यताकै न्यून बिन्दुमा

काठमाडौं । नेप्से परिसुचक पछिल्लो साढे ४ महिनायताकै न्यून विन्दुमा झरेको छ । गत ३० वैशाखमा २ हजार ६ सय ८४ विन्दुमा रहेको परिसूचक त्यसपछि सो विन्दुभन्दा माथि नै थियो । सोमबार भने परिसूचक २ हजार ६ सय ८५ दशमलब ४२ विन्दुमा झरेको छ । ३ हजार १ सय ९९ को उच्चतम विन्दुबाट परिसूचक घटेर अहिलेको अवस्थमा आइपुगेको हो ।

बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभावपछि सेयर बजारमा नकारात्मक असर परेको सेयर लगानीकर्ता जीवन सुवेदीको भनाइ छ । उनले दशैमा खर्चको जोहो गर्न पनि केही सेयर बिक्री भएको आकलन गरे । अन्य लगानीकर्ताहरु भने नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको कारण बजारमा नकारात्मक असर परेकोले बजार घटेको बताउछन । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत एकाघर परिवारका व्यक्ति तथा एउटा संस्थाले एउटै बैंक वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म र सबै बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन प्रकृतिको सेयर धितोकर्जा लिन पाइने नीतिगत व्यवस्था गरेको थियो ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) अभाव बढ्दै गएपछि बैंकहरुले व्याजदर बढाएका छन् । बैंकहरुले बढाएको व्याजको कारण कर्जा महंगो भएपछि सेयर बजारमा त्यसको असर परेको देखिन्छ । यस्तै, केही क्षेत्र तथा कम्पनीको सेयर मूल्य अवास्तविक रुपमा बढेको गुनासो पनि थियो । सोही कारण कतिपय नीति निर्माताहरुले सेयर बजारमा ‘हावा भरेको मूल्य’ भनेर नकारात्मक टिप्पणी पनि गरेका थिए । सोमबारको सेयर बजार निरन्तर रुपमा घटेको छ । बिहान बजार खुलेदेखि ओरालोको बाटो तय गरेको नेप्से परिसूचक अन्त्यसम्ममै ओरालो लागेर बन्द भएको छ । दिनभरको बजारमा नेप्से परिसूचक ७३ दशमलब शुन्य ५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलब ४२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २ दशमलब ६५ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरमा २ सय २७ कम्पनीको कुल ५ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन अघिल्लो दिन आइतबारको तुलनामा एक अर्ब ३८ करोड रुपैयाँले घटी हो । कूल कारोबारमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । पछिल्लो समय कम्पनीको दैनिक रुपमा सर्वाधिक कारोबार हुँदै आएको छ । बजारमा कम्पनीको सेयर भाउ प्रतिकित्ता ४९२ रुपैयाँ रहेको छ ।

बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कूल १३ वटा समूहमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ४३९ अंकले घटेको छ । सोमबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । १८५ वटा कम्पनी कारोबारमा आएकामा १८२ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ ।

सेयर मूल्य बढ्नेमा गुराँस फाइनान्स, मैलुङखोला जलविद्युत कम्पनी र मनकामना स्मार्ट लघुवित्त रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी मनकामना स्मार्टको सेयर मूल्य ९ दशमलब ९९ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ५ सय ९३ दशमलब ७० रुपैयाँ पुगेको छ । त्यस्तै, मैलुङखोलाको पनि सेयर मूल्य सर्किट लेभलमा कारोबार भई प्रतिकित्ता २२६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ९ दशमलल ९७ प्रतिशतले बढी हो ।

प्रतिक्रिया