सडक हिलाम्य हुँदा नागरिकको जनजीवन कष्टकर

भोजपुर । भोजपुर र संखुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–हिले सडकखण्ड हिलाम्य हुँदा यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ । यो सडकखण्डको निर्माणमा बेवास्ता गरिँदा दुई जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका हुन् । यो सडकखण्ड हिलाम्य हुँदा दुबै जिल्लामा यातयातका साधनसँगै खाद्यान्न ढुवानीमा समस्या भएको छ । दुई जिल्ला जोड्ने मुख्य राजमार्गका रूपमा रहेको यो सडकखण्ड वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा वर्षौंदेखि यस क्षेत्रका मानिसले सास्ती भोगिरहेका छन् । भोजपुर सदरमुकामबाट पूर्वी क्षेत्र हुँदै धनकुटाको सिमाना अरुण नदीको लेगुवाघाटसम्मको भोजपुर खण्डमा पर्ने ६६ किलोमिटर सडक कालोपत्र छ । तर, धनकुटाको लेगुवा–हिले सडकखण्डको करिब २६ किलोमिटर निर्माणमा ढिलाइ हुँदा भोजपुर, संखुवासभाका र धनकुटाका विभिन्न स्थानीयतहका स्थानीयवासी मारमा परेका छन् ।

वर्षात् सुरु भएपछि यस सडकखण्डमा ६ घण्टासम्म सवारी तथा ढुवानीका साधन फस्ने गरेका छन् । कतिपयले यस सडकका कारण अकालमा ज्यानसमेत गुमाएका छन् । भोजपुरमा उपचार हुन नसकेको बिरामीलाई बाहिर लैजाने मुख्य मार्ग यही हो । ‘अरू मानिस घण्टौँ बाटोमा अपलत्र परेर पनि गन्तव्यमा पुग्लान् । तर हिलाम्य बाटोका कारण अकालमा ज्यान गुमाएकाको जिम्मा कसले लिन्छ’, स्थानीय बताउँछन् ।
भोजपुर र संखुवासभाका लागि खाद्यान्न ढुवानी गर्ने मुख्य मार्ग पनि यही हो । चाडबाड नजिकिएसँगै खाद्यान्न ढुवानीमासमेत समस्या भएको व्यापारी बताउँछन् । हिलो सडकमा ठूला साधन फसेपछि अन्य सवारीका साधन दिनभरजसो बाटोमा अलपत्र पर्ने गरेका छन् । विभिन्न काम विशेषले यात्रा गर्ने यस सडकखण्डमा पुगेसँगै गन्तव्यविहीन हुने गरेका छन् ।

पाख्रीबास नगरपालिकामा रहेको करिब एक किलोमिटर सडक हिलाम्य छ । यहाँबाट हजारौँ यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सवारी चालक उज्ज्वल श्रेष्ठले भने, ‘दैनिक यही बाटो भएर यात्रा गर्नुपर्छ । बाटोमा लामो समयसम्म गाडी हिलोमा फस्छ । झनै एउटा मालबाहक ट्रक फस्यो भने त्यो निकाल्न कोशिस गर्दा गर्दै दिनरात यही बित्छ । समयमा खान पाइँदैन । यात्रुको झनै बिजोग हुन्छ । यस्तो अवस्था देख्दा पनि यहाँका जनप्रतिनिधिसँगै सरोकारवाला पक्ष मौन छन् ।’

ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाइ गर्र्दा यात्रुबाहक तथा ढुवानीका साधन यहाँ घण्टाँैसम्म हिलोमा फस्ने गरेका छन् । विगतका दिनमा यो सडकमा ग्राभेल गरिएको थियो । सडक निर्माण गर्न भन्दै यहाँ लगाएको ग्राभेल भत्काइयो तर काम भएन । भोजपुर क्षेत्रको सडक कालोपत्र भए पनि सो क्षेत्रमा सडक निर्माणमा बेवस्ता गरिदा यहाँका जनताले मार भोग्दै आएका छन् । भोजपुरबाट ६ देखि सात घण्टामा धरान पुग्दै आएका यात्रु अहिले १० देखि १२ घण्टामा मात्र धरान पुग्ने गरेका छन् ।

पाख्रीबास नगरपालिकाले भने सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ । निर्माण व्यवसायीलाई चाँडो काम गर्नका लागि ताकेका गरिररहेको नगर उपप्रमुख देवकला पौडेल तिमल्सेनाले जानकारी दिइन् । उनले भनिन्, ‘यो सडकका कारण धेरै नै समस्या छ । हामीले निर्माण कम्पनीलाई समयमा काम गर्न भनिरहेका छौँ ।’ विगतमा निर्माण कम्पनीको तर्फबाट काममा ढिला भएको हो । दुई वटा भागमा काम भइरहेको छ । ठेक्का लागेको सडक भएकाले हामीले बजेट विनियोजन गरेर काम गर्ने अवस्था छैन । तैपनि हामीले बेलाबेलामा आफ्नै एक्साभेटर प्रयोग गरेर सडकलाई मर्मत गरिरहेको उनको भनाइ छ । सडकलाई सहजरूपमा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । विभिन्न बाहना बनाएर सडक निर्माणको काममा ढिलाइ भएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया