सिमपाखा र रामदल

देवशंकर पौडेल

रामेछाप नगरपालिका–४, हिमगंगाको बोलुङबोलुङ र नाक्चाका बिचमा गहिरो खोल्सो छ । त्यहाँ एउटा गुफा पनि छ । अँध्यारो गुफा भएको त्यो खोल्सो भएको स्थानलाई सिमपाखा भन्दछन् । सिमपाखामा उहिल्यै उहिल्यै वनझाँक्री वनझाँक्रीनी बस्ने गर्दथे भन्ने गरिन्छ । वनझाँक्रीले गाउँलेका आँखा छलेर बेलाबेलामा गाउँका बालबालिकाहरू लैजाने गर्नाले गाउँलेहरू आतंकित हुने गर्थे ।

एकदिन बोलुङबोलुङका सात वर्षका बालक रामदल एक्चै मगरलाई वनझाँक्रीले पक्रिएर बेपत्ता पा¥यो । कसैसँग नडराउने, मीठो बोली भएका चतुर जस्ता लाग्ने, विलक्षण प्रतिभा भएको उक्त बालक रामदल सात दिन सात रात बेपत्ता भए । खोजीका क्रममा उनले लगाएको दौरा खेलिरहेकै स्थानमा भेटियो । रामदल नांगै बेपत्ता भएका थिए । सात दिन पछि रामदल फर्किएर नांगै घर आए । त्यसवेला उनको अनुहारमा आभा चम्किएझैँ उज्यालो थियो । उनका परिवार नातागोता, छरछिमेकी पिरिएका थिए । हराएको बालक एकाएक घर आउँदा उनीहरूमा हर्षको सीमा रहेन । सबै निकै खुसी भए ।

सबैजना बालकको छेउमाजम्मा भएर विभिन्न प्रश्न तेर्साउन थाले । रामदल नाम भएका ती बालकले सात दिन सात रातमा आफूले भोगेको विवरण यसरी सुनाए, ‘गनीगनी सात गेडा चामलका सीताको भात र गड्यौलाको मासु खान दियो । खाजाको रूपमा झाँक्री विद्याले मन्तरेका फलामका च्युरा खान दिन्थ्यो । फलामका च्युरा पनि चपिन्थे र मीठा हुन्थे । त्यहाँ भोकको महसुस पनि हुँदैनथ्यो । घर जाऊँ जाऊँ पनि लाग्दैनथ्यो । झाँक्रीले टिपेपछि, मेरो दौरा फुकालेर सतिवयरको बुट्टामा झुण्ड्याइदियो । त्यसपछि काँचो धागो तानेर मलाई धागैधागो हिँडाएर सिमपाखाको ओडारमा पु¥यायो । सात दिन सात रात राखेर तन्त्रमन्त्र सिकाएर तालिम दियो । उसले जे भन्यो त्यो नबिर्सिने गरी भन्दोरहेछ । मेरो सम्झिने शक्ति ताजा भयो । तन्त्र विद्यामा पारंगत बनाएर पठायो । उनका कुरा सुन्नेहरू एकाग्र भए ।

उसकी झाँक्रिनीचाहिँ लट्टा परेकी, होचीहोची थसुल्ली, झोलिएका फाँचा काँध माथीबाट दोकाँधे पारेर पछाडि झुण्ड्याएकी थिई । लामा लामा दाह्रा भएकी, हेर्दैमा डरलाग्दी झाँक्रीनी, स्वभावमा पनि राक्षसनी जस्तै लाग्थी । उसले मलाई नै खाउँला झैँ गरेर पटकपटक झम्टिन्थी । वनझाँक्रीले कसोकसो जोगाउँथे । उनले बनझाक्रीसँग बिताएका क्षण सुनाए ।

‘वनझाँक्री पनि होचो कदको, गोलागोला आँखा, सानो नाक, फराकिला कान, शरीर भरी भुत्ला भएको छरितो ज्यान भएका थिए । उनीहरूका सन्तान कोही पनि देखिएनन् । मलाई वनझाँक्रीले मायालु व्यवहार देखाए ।’ यस्तै अनुभव सुनाएर रामदल पुनः परिवारमा समावेश भए । गाउँघर खुसीले गद्गद् भए । उनको चमतकारी बहादुरी देखेर सबै चकित थिए ।

समय बित्दै जाँदा गुरु वनझाँक्रीबाट भर्खरै तालिम पाएको रामदल घर आएपछि अनौठो ब्यवहार देखाउन थाले । हरेक समय गुरुले दिएको ज्ञान बमोजिम आफ्नो साधना गरिरहन्थे । कहिले नाक्चाको भीर, कहिले बोक्सेको मसानको ओख्ली, कहिले लिखु तरेर मकुवा दह, कहिले मान्द्रेभीर, कहिले घिचिने ओडार त कहिले सिल्खु दोभान नजिकैको कालो ओडार, अनेक ठाउँमा साधना गर्थे । सानो बालक मध्यरातमा मसान घाटमा गएको देखेर उनका बाबुआमा अत्यन्तै दुःखी थिए् । त्यसरी नहिँड्न अनेक तरहले सम्झाइबुझाइ गरे । केही सीप लागेन । बालक रामदल आफ्नो साधनामा दत्तचित्त ररिरहे ।
एक रात साधनामा निस्किएका बालक रामदल बिहान आउँदा थप आभा सहितको चम्किलो अनुहारमा घर आए । उनका हातमा चिटिक्क परेको सुनको ढ्यांग्रोे र सुनकै गजो थियो । सेतो नैनसुतको जामा, दुम्सीकाँडे पगरी, रिठ्ठाको माला लगाएका थिए । ढ्यांग्रो बजाउँदै, माला हल्लाउँदै, छमछमी नाच्दै आएको परैबाट देखियो ।

त्यो रामदल साधनामा पारंगत भएको सन्दर्भमा उनले पाएको थप उपहार थियो । उपहार दिने सिलसिलामा उनका गुरुले भनेका थिए रे, ‘कसैले सोध्यो भने यी सामग्रिहरू कहाँबाट ल्याएको नभन्नु ।’ उनलाई गोपनीयता राख्न भनियो । सुनको ढ्यांग्रोे गजोसमेत देखेपछि रामदलकी आमालाई कूतुहल भयो । उनले छोरालाई सोधिन् । रामदलले भन्नु हुँदैन भने । आमाले अरू करकर गरिन् । उनले भनेका थिएनन् । एकदिन आमाको ढिपीलाई नाघ्न नसकेर बताउन बाध्य भए । जव उनले बताए, त्यति नै बेलादेखि कलात्मक अनि चिटिक्क परेको सुनको ढ्यांग्रोे, गजो र अरू जे थिए सबै सामानहरू अलप भए ।

रहँदा बस्ता रामदल यस्ता अद्भूत धामी कहलिए कि, उनको कीर्ति चारैतिर फैलियो । रामदलका आमाबुवा जमिन जोतखन गर्न मानिसलाई खेताला लाउँथे । रामदलले खेत बारीमै जादुमय तरिकाले भाँडाकुँडा जम्मा गरेर खेतालाहरूलाई सुँगुरको मासु र भात पकाएर खुवाइदिन्थे । खेताला मख्ख परेर खान्थे । मीठो मीठो खान पाइने भएर खेतालाहरू रामदलको परिवारको खेतमा कामगर्न खुसी हुन्थे । भोलिपल्ट दिसा गर्दा मौवाको बोक्रा पो आउँथ्यो । उनी मौवाको बोक्रालाई सुँगुरको मासुमा रूपान्तरण गर्दा रहेछन् ।

ओखलढुंगाको यसममा उनका कोहि नागागोता थिए । एकदिन यसममा उनको नाताले चिन्ता बस्न आह्वान गरे । रामदल यसम गए । यसममा बल्दे (बलदेव ?) नाम भएको प्रसिद्ध धामी थियो । आफ्नो प्रभाव क्षेत्र (छिमेक) मा चिन्ता बस्न भनेर आएको फुच्चे झाँक्री केटो रामदललाई देखेर उसलाई डाहा भएको थियो । जव चिन्ता बस्न सुरु भयो ! बालक झाँक्रीलाई हेपेर बल्दे धामीले मन्त्रतन्त्र गरेर उनले बालेको दियो, हावामा उडाएर घरको दलिनमा टाँसिदिएछ । उनले पनि मन्त्रका बलले दलिनबाट साविक स्थानमा झारेर चिन्ता बसिदिए । बल्दे छक्क प¥यो ।
रामदलले जव जोखाना हेर्ने समय आयो, बल्देले बिरामीलाई छुवाउन दिएन । पहिले ढिकीमा छुवाएर पठायो । रामदलले ढिकीमा छुवाएर ल्याएको भनिदिए । फेरी ओख्लीमा छुवाएर पठायो, अनि कुकुरलाई छुवाएर पठायो, रामदलले जेजे हो, त्यहि त्यहि बताए । विरामी मान्छेलाई छुवाएकै छैन, भने । जब बिरामीलाई छुवाएर अक्षता ल्याए, रामदलले अनि मात्र जोखाना खुट्टयाए ।

रामदललाई बालक ठानेर तन्त्रमन्त्रका बलमा अनेक अनेक दुःख दिने बल्दे धामीले निकै सान देखाउँदै थियो । रामदलले मनमनै बल्देको घमण्ड तोड्ने विचार गरे । घोडा चढेर हिँड्दै गरेको बल्देको सेखी तोड्न एक मुठी अक्षता अभिमन्त्रित गरेर एउटा भालेलाई हानिदिएका मात्र के थिए । भाले ठाउँको ठाउँ मर्यो । तत्कालै बल्दे घोडाबाट भुइँमा पछारिएर मुर्छित भयो । गाउँले र बल्देका परिवार रामदलसँग आएर जम्ल्याहात जोडेर बचाइदिन अनुरोध गरे । रामदलले फेरी अक्षता मन्तरेर त्यही मृत भालेलाई हिर्काइदिए । भाले जुरुक्क उठेर जीउ तन्काउँदै, तिनै अक्षता टिपेर खान थाल्यो । तब घोडाबाट लडेको बल्दे पनि आँखा मिच्दै, आङ तन्काउँदै उठ्यो । ऊ बालक रामदलका शरणमा पुग्यो । अनि हार स्वीकारेर, रामदललाई जीवन भरी गुरु मान्ने प्रतिज्ञा गर्यो । अरूको शक्तिको अनुमान न गर्दा र घमण्ड देखाउँदा ऊ बालकसामु झुक्नै पर्यो । यो वास्तविकता हो उनको सन्तती आज पनि रामेछापमा छन् ।

प्रतिक्रिया