मर्दीमा आन्तरिक पर्यटकको चहलपहल

कास्की । कास्कीको मर्दी हिमाल पदयात्रामा आन्तरिक पर्यटक पुग्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह बढेको छ । कोरोनाले शिथिल यस पर्यटनमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक पर्यटक आउन सुरु गरेको त्यस क्षेत्रका व्यवसायी बताउँछन् । विदेशी पर्यटकले पनि सोधीखोजी सुरु गरेका छन् । कोभिड अघिको अवस्थामा यहाँको पयर्टन फर्किन समय लाग्ने भए पनि स्वदेशी पदयात्रीको चहलपहल सुरु भएकाले आशा जगाएको छ । मर्दी ट्रेकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी सुदीप गौतमले अहिले पदयात्रामा आन्तरिक पर्यटक आउन सुरु गरेको बताए ।

‘नेपाली हिँडन् थालेका छन्, विदेशीको पनि सोधपुछ आउन थालेको छ’, गौतमले भने, ‘दिनमा १५÷२० जना नेपाली पर्यटक आएका छन् ।’ दसैँको बिदा सुरु भएलगत्तै थप पर्यटक आवागमन हुने ठानिएको छ । सरकारले आगामी फागुनसम्म सबैलाई कोरोना खोप दिने बताएको र अहिले पनि केहीले खोप पाइसकेकाले मर्दी क्षेत्रको पर्यटन विस्तारै पहिलाकै अवस्थामा फर्किनेमा आशावादी रहेको उनी बताउँछन् । मर्दी पदयात्राका धम्पुस, अस्ट्रेलियन, पोथना, हाइ र लो क्याम्पका होटल तथा रेस्टुरासमेत अहिले खुलेका छन् ।

होटलमा आउने पर्यटकका लागि स्वास्थ्य मापदण्ड पालना गराउने गरिएको गौतमले बताए । विदेशी पर्यटक आउन समय लाग्ने भएकाले आन्तरिक पर्यटकमै अझै केही महिना पर्यटन निर्भर हुने बताइन्छ । विशेषगरी दसैँको आसपासमा यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । विगत वर्षमा विदेशी पर्यटक उल्लेख्य हुने गरे पनि दुई वर्षयता विदेशीको आगमन ठप्प छ । छोटो अवधिमा नजिकबाट हिमशृंखलाको अवलोकन मर्दी पदयात्राको आकर्षण हो । पदयात्री मौसमानुसारका फूल पूmल्ने हरियालीसँग यात्राका क्रममा आनन्दित हुने गर्दछन् ।

गत वर्ष दसैँ तिहारमा पर्यटकको घुइँचो भएपछि कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रामा आउने पर्यटकसँग पिसिआर रिपोर्ट अनिवार्य गरिएपछि पर्यटक घटेका थिए । पछि निषेधाज्ञा जारी भएपछि सबै होटल बन्द गरिएका थिए । मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले सो क्षेत्रका पर्यटन व्यवसायीलाई कोभिड विरुद्धको खोपका लागि जिल्ला प्रशासन तथा गाउँपालिकासँग पहल गरिएको बताए ।

स्वदेशी विदेशी पर्यटकको चहलपहल सुरु भएसँगै आफूहरू पनि खोप लगाएर निर्धक्कका साथ पर्यटकलाई स्वागत गर्न चाहेको बताए । उनले भने, ‘कोभिडले दुई वर्ष हामी मारमा प¥यो । अहिले सरोकारवाला सबैसँग सल्लाह गरेर होटल व्यवसाय खोलेका छौँ । खोप लगाएर ढुक्क भएर पर्यटकको स्वागत गर्न चाहेका छौँ । अबको पालोमा खोपको व्यवस्था हुुन्छ भनेर आश्वासन पाएका छौँ ।’

अहिले पानी पर्न विस्तारै कम हुँदै गएर मौसम खुल्दै गएकाले समेत हिमालको सुन्दरता र गाउँठाउँको हरियालीले पर्यटकलाई स्वागत गरिरहेको गुरुङ बताउँछन् । मर्दी पदयात्रामा जाने पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अस्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेस्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै ४ हजार ५ सय मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने गर्दछन् ।

पोखराबाट जिपमा माछापुच्छ«े गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाँबाट समेत मर्दी हिमाल पुग्न सकिन्छ । पछिल्लो समय पोखरा–२५ को मेलबोटदेखी नै पदयात्रा सुरु गर्ने गरी नयाँ पदयात्रामार्गको खोजी गरेर पैदलमार्ग निर्माण गरिएको हो । मेलबोटदेखि पदयात्रा सुरु भएर, अस्ताम, धिताल, धम्पुस, प्रितमदेउराली तथा धिताल ल्वाङ, घलेल कालीमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजना अनुसार पूर्वाधार निर्माण गरी नयाँ बाटोको विकास गरिएको छ ।

गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षमा १० लाख बजेट र जर्मनस्थित एक विदेशी संस्थाको ४ लाख ५० हजार आर्थिक सहयोगमा मेलबोटदेखि अस्तामसम्मको विभिन्न स्थानको अप्ठ्यारो ठाउँमा पाँच सय मिटर पैदलयात्रा निर्माण गरिएको मेलबोट–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पदमार्ग निर्माण समितिका संयोजक पर्यटन व्यवसायी विश्व अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया