देशको विकास गर्न एमाले पार्टी नै चाहिन्छ : केपी ओली

बाँके । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी बाँकेले बुधवार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारबाट राजदूत फिर्ता बोलाउनेबाहेक अरु काम नभएको बताए ।

पूर्व प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले राजदूतमा पार्टीका कार्यकर्ता नभई वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशका लागि काम गर्नसक्ने व्यक्तिलाई पठाएको उनले प्रस्ट्याए ।

पूर्व प्रधानमन्त्री ओलीले नेकपा एमाले सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्रगतिमा अगाडि बढेको दाबी गर्दै विकासका काम अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताए ।

एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । उनले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर विजयको यात्राका लागि पार्टीका काममा उच्च मनोबलका साथ खट्न कार्यकर्तालाई निर्देशन दिए । रासस

प्रतिक्रिया