के प्रियांकाले भ्रुणको लिंग जाँच गराएकी थिइन् ?

छोरी जन्माएपछि प्रियांका र उनका श्रीमान् आयुष्मान । तस्विर उनकै फेसबुकबाट

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले पूर्व घोषणा अनुसार नै छोरीलाई जन्म दिएकी छन् । गर्भवती हुँदादेखि नै सामाजिक सञ्जालमा तस्विरहरु सार्वजनिक गर्दै चर्चामा आएकी कार्कीले तीन महिना अगाडि नै छोरी जन्मिने संकेत गरेकी थिइन् ।

यतिबेला छोरी जन्माएपछि पनि अभिनेत्री कार्कीले आफ्नो सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गर्दै आफू आमा बनेको उल्लेख गरेकी छन् । अभिनेत्री कार्कीले ‘यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ’, भनेर सामाजिक सञ्जाल फेसबुमा लेखेकी छन् ।

उक्त तस्विरमा प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी खुशी देखिएका छन् । नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले २०७६ सालमा विवाह गरेका हुन् ।

प्रियांका गर्भवती हुँदा तीन महिना अगाडि छोरी जन्मिने संकेत गर्दै प्रियांकाकी आमा डाक्टर अंगुर कार्कीले आफ्नै फेसबुकमा सार्वजनिक गरेको तस्विर उनकै प्रोफाइलबाट

आफू गर्भवती भएपछि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्विरहरुले उनको केही चर्चा र आलोचनासमेत भएको थियो । प्रियांकाले छोरी जन्माउने कुरा पहिले नै सार्वजनिक गरेकी थिइन् । तीन महिना अगाडि नै गर्भमा रहेकी छोरीको नामसमेत जुराएर तस्विरमा ‘आयंका’ लेखी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो ।

अभिनेत्री कार्कीकी डाक्टर आमा अंगुर कार्कीले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा तीन महिना अगाडि नै छोरी जन्मिने संकेतसहितको तस्विर सार्वजनिक गरेकी थिइन् । नेपालको कानूनले भने गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्न बन्देज गरेको छ ।

 

प्रतिक्रिया