पोखरेललाई प्रलेस पुरस्कार

काठमाडौं । नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा योगदान दिएका कवि तथा कथाकार मातृका पोखरेल पुरस्कृत भएका छन् । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा यस वर्षको प्रलेस प्रतिभा पुरस्कार पोखरेललाई प्रदान गरेको हो । प्रलेसको ७०औँ वार्षिकोत्सवका अवसर पारेर संस्थाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार पोखरेललाई १० हजार राशिको सो पुरस्कार प्रदान गरिएको हो । उनलाई वरिष्ठ प्रगतिशील साहित्यकार शान्तदास मानन्धरले उक्त पुरस्कार प्रदान गरेका थिए ।

उक्त अवसरमा प्रलेसका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीद्वारा लिखित ‘झुल्के घाम’ र तिला लेकालीद्वारा लिखित ‘साझा आकाश’ कवितासंग्रह विमोचन गरिनाका साथै ‘त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ’ को चर्चा गरियो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेल, प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्याय, महासचिव समिर सिंह, उपमहासचिव आरसी न्यौपाने लगायतले प्रलेसमा प्रादेशिक र महिला साहित्यकारका योगदान लेखिने जनाउँदै प्रगतिशील साहित्यको आन्दोलनलाई टुट्नफुट्न दिन नहुनेमा जोड दिए । विसं २००९ मा श्यामप्रसाद लगायतका स्रष्टाले स्थापना गरेको प्रलेसमा विभिन्न वामपन्थी आन्दोलनसँग सम्बद्ध प्रगतिशील साहित्यकार सम्मिलित रहेका छन् ।

प्रतिक्रिया