१९ वटा अपहरणका दोषीलाई माफीमिनाहा !

काठमाडौं । सरकारले अपहरण र हत्याजस्ता खुँखार अपराधमा दोषी किटान भएकालाई जेलमुक्त गरिदिएको छ । संविधान दिवसको अवसरमा सरकारले ५ सय २२ जना कैदीबन्दीलाई माफी मिनाहा गरेको थियो । शृंखलाबद्ध अपहरण गरेर फिरौती असुल्ने प्रह्लाद महत र विष्णु जिसी माफी मिनाहा पाएर छुटिसकेका छन् । सर्लाहीका प्रल्हाद रामेछाप कारागारबाट जेलमुक्त भएका हुन् भने जिसी रुपन्देही कारागाबाट मुक्त भएका हुन् । सजाय मिनाहा हुने सरकारको निर्णयपछि उनीहरू छुटेको रामेछाप कारागारका जेलर रामकृष्ण घिमिरे र रुपन्देही कारागारका प्रमुख नारायण पन्थीले पुष्टि गरे ।

‘उनीहरूलाई कानुनले दिएको मापदण्डअनुसार नै छोडिएको हो,’ घिमिरेले भने, ‘चालचलन सुध्रिएपछि कैद छुटको फारम भराएर माथि पठाएका हौँ । सोहीअनुसार निर्णय भई आएपछि महत छुटेका हुन् ।’ महत र जिसी संविधान दिवसकै दिन कारागारमुक्त भएका हुन् ।
महत र जिसी काठमाडौंको बालाजुस्थित भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण मुद्दामा २०६५ मा जेल परेका थिए । उनीहरूलाई जिल्ला अदालत काठमाडौंले २० वर्ष कैद सजाय सुनाएको थियो । तर, १३ वर्ष कैद सजाय मात्रै भुक्तान गरेर निस्किएका छन् ।
उनीहरूमाथि प्रहरीले ज्यान मार्ने उद्योग, शरीर बन्धक, फिरौतीसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

१ पुस २०६५ मा रावल अपहृत भएका थिए । रावललाई महत र जिसीसहित चार÷पाँच जनाको समूहले मुखमा पट्टी बाँधेर दिउँसै निजी गाडीमा हालेर लगेका थिए । त्यसपछि रावल महतसहित जीसी समूहलाई १ करोड ५० लाख फिरौती रकम बुझाएर सकुशल फर्किएका थिए । रावललाई अपहरण गर्न प्रयोग गरिएको गाडी प्रहरीले कान्ति बाल अस्पतालको पार्किङभित्र फेला पारेको थियो ।

२०५९ सालतिर महतसहित भारतीय नागरिक उदय सेट्टी, अमर टण्डनहरू मिलेर संयुक्त रूपमा अपहरण तथा शरीर बन्धक गरी फिरौती असुल्ने धन्दा नै चलाएका थिए । अपहरण तथा शरीर बन्धक गरी फिरौती असुलीको घटनामा प्रहरीको खोजी सूचीमा रहेका टण्डन पक्राउ परेपछि महत र जिसीको संलग्नता खुलेको थियो । गाडी चालक पनि पक्राउ परेका थिए । टण्डनले जेलभित्रैबाट समेत महत र जिसीको टोलीलाई परिचालन गरेर अपहरण तथा फिरौती असुल गरेका थिए । यद्यपि रावल अपहरणमा भने उनीहरूले काठमाडौंको सामाखुसीका अर्का व्यवसायी निरज कक्षपतीलाई समेत अपहरण गरी १ करोड ५० लाख रुपैयाँ फिरौती असुलेका थिए ।

त्योबाहेक अर्का व्यवसायी पशुपति मुरारकालाई अपहरण गरी कञ्चटमा पेस्तोल राखेर धम्क्याउने क्रममा पेस्तोल आफैँ पड्किएर महत र जिसी समूहकै एक जना सदस्य सुदीप मैनालीलाई गोली लागेको थियो । त्यसपछि महत समूहले मैनालीलाई पुनः २ राउण्ड गोली हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यो बेला उनीहरूले कसैले पनि शवको पहिचान गर्न नसकून् भनेर मैनालीको अनुहार ढुङ्गाले किचेर शरीरलाई क्षत्विक्षत् पारी बोरामा पोको पारेर गौरीघाटमा फालेको भेटिएको कक्षपतिअपहरण अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

पछि मृतक मैनाली परिवारले टण्डन समूहलाई प्रतिवादी बनाएर कर्तव्य ज्यानमा किटानी उजुरी दिएका थिए । जसमा महत र जिसीसमेत प्रतिवादी थिए । प्रहरीले अनुसन्धानले रावल र कक्षपतिसहित उनीहरूले १९ वटा अपहरणका घटना गराएको खुलाएको थियो । काठमाडौंका व्यवसायीको अपहरण गरी फिरौती उठाउँदासम्म राख्नका लागि त्यो समूहले काठमाडौंको बौद्ध तथा मण्डीखाटार र उपत्यकाबाहिर रुपन्देहीमा समेत घर भाडामा लिएको प्रहरीको दाबी थियो । सोही अपहरण मुद्दामा फरार रहेका अर्का अभियुक्त सर्लाहीकै दुर्गाबहादुर बुढाथोकीलाई भने गत वर्षको पुसमा मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो ।

यो अपहरण समूहमा महत, जिसी, बङ्गुरे भनिने विकास कार्की, सोल्टी भनिने टासी गुरुङ, विनोद कार्की, उदय सेट्टी, अमर टण्डन र अनिल गुरुङ थिए । मुख्य नाइके भने सेट्टी र टण्डन हुन् । गत वर्ष पक्राउ परेका बुढाथोकी र महत दुवैको घर सर्लाही हो । त्यसरी नै टण्डन र जीसीको घर पनि एकै ठाउँ पाल्पा हो ।

अपरण गर्न उनीहरूले चोरीका मोटरसाइकलदेखि कार प्रयोग गर्ने गरेका थिए । जसमा बुढाथोकी र महतको भूमिका विशेष हुने गरेको थियो ।
सेट्टी प्रकाउ परेपछि प्रहरीकै योजनाअनुसार सेट्टीले फोनमार्फत प्रह्लादलाई मोटरसाइकल लिन बोलाएपछि उनी पक्राउ परेका थिए । कानुनमा आधा सजाय भुक्तान गरिसकेका कैदीबन्दीको चालचलन सुधारिएमा सजाय छुट हुने व्यवस्था छ । तर, जघन्य अपराध गरेकाले भने हत्तपत्त यो सुविधा पाउँदैनन् । कारागारको सिफारिसमा जिल्ला प्रशासन कार्यालहुँदै कारागार व्यवस्था विभाग, गृह मन्त्रालयले सजाय मिनाहाको सूची मन्त्रिपरिषद् पठाउँछ । यो सूची मन्त्रिपरिषद्बाट पास भएपछि राष्ट्रपतिबाट कैद मिनाहाको घोषणा हुन्छ ।

प्रतिक्रिया