नेपालको राजनीतिक प्रतिवेदनः देउवाका पक्षमा मतदान जायज विद्रोह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने कदम राजनीतिक स्थायित्व र लोकतन्त्र बचाउनका लागि गरिएको जायज विद्रोह भएको बताएका छन् । केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले प्रतिनिधिसभा बचाउन र प्रतिगमनलाई परास्त गर्न आफूहरूले जायज विद्रोह गरेको बताएका छन् । ’प्रतिनिधिसभालाई बचाएर संविधान र लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले उपयुक्त सबै काम गरिएको हुँदा प्रतिनिधिसभा बचाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु पथ्र्यो । र, यो कदम नेपाली जनताले कठोर संघर्ष गरेर ल्याएको लोकतन्त्रको रक्षार्थका लागि गरिएको जायज विद्रोह आवश्यक र उचित थियो ?’उनको प्रतिवेदनमा भनिएको छ ।

उनले ४ र ५ चैतमा राष्ट्रिय कार्यकर्ताको भेलाबाट सम्मानजनक एकतामा जोड दिँदै त्यस परिस्थिति हुन नसकेमा विद्रोहबाट नयाँ पार्टी गठन गर्ने निर्णय अनुसार एकीकृत समाजवादी निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ । ‘हामीले एकताको प्रयत्न गरिरह्यौँ तर ओली पक्षले विभाजनकारी गतिविधि अघि बढाइरह्यो । सांगठनिक हिसाबले मात्रै होइन पार्टीले अंगालेका सिद्धान्त एवम् विचार तथा नवौँ महाधिवेशनले तय गरेका कार्यदिशालाई समेत उल्लंघन गर्दै पार्टीलाई विभाजनको दिशामा धकेल्ने काम भयो,’ नेपालले उल्लेख गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले एकताको नाटक मात्रै गरेको नेपालले आरोप लगाएका छन् । ओली पक्षले गरेको १०बुँदे सहमति प्रतिनिधिसभा विघटनको मुद्दालाई प्रभावित पार्ने षड्यन्त्र भएको नेपालको भनाइ छ । १०बुँदे सहमति प्राविधिक मात्रै भएकाले त्यसले एकतालाई बल पु¥याउनै नसक्ने प्रतिवेदनमा लेखिएको छ । ’२०७८ असार २७ गते राति भएको सहमतिको मूल ध्येय अदालतमा विचाराधीन प्रतिनिधिसभाको मुद्दालाई प्रभावित पार्नु थियो । उक्त सहमतिका १०वटै बुँदा प्राविधिक प्रकृतिका छन् । वैचारिक सवालमा प्रवेश नगरी केबल प्राविधिक बुँदा मात्रै सहमति गरेर एकता हुन सक्दैनथ्यो,’ नेपालले उल्लेख गरेका छन् ।

नेपालले विदेशी गुप्तचर संस्थाका प्रमुखसँग मध्यरातमा गुप्त मन्त्रणा गरी राष्ट्रियतामा समेत आँच पुग्ने गरी ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । ’विदेशी राष्ट्रको गुप्तचर संस्थाका प्रमुखसँग मध्यरातमा गुप्त मन्त्रणा गरी राष्ट्रियतामा समेत आँच पुग्ने गरी अलोकतान्त्रिक गतिविधि सञ्चालन गरियो,’ प्रतिवेदनमा लेखिएको छ ।

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा ओली एक्लिएकाले प्रतिगामी तत्व र हिन्दुत्वको समेत सहारा लिन पुगेको नेपालको आरोप छ । एमाले विभाजनमा केपी ओली नै प्रमुख कारक रहेको नेपालको भनाइ छ । ’केपी ओलीको दक्षिणपन्थी र विर्सजनवादी सोच र सिंगो पार्टी कब्जा गरी आफ्नो एकलौटी वर्चस्व कायम गर्ने चाहनाले गर्दा एमाले विघटन हुन पुग्यो,’ नेपालले भनेका छन् ।

अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने पार्टी भएको उल्लेख गरेका छन् । पार्टीले समान्ती तथा दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादी शोषण, दमन एवं उत्पीडनको अन्त्य गरी जनवादी चरण हुँदै वैज्ञानिक समाजावदको स्थापना गर्ने प्रतिवेदनमा भनिएको छ । पार्टी लोकतान्त्रिक मूल्य मान्यतासहितको समावेशी चरित्रको बनाइने नेपालले बताएका छन् । पार्टीको प्रमुख कार्यभार कम्युनिस्ट आन्दोलनको रक्षाका साथै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा रहने उल्लेख छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा नेता नेपालको प्रतिवेदनमा पाँचवटा समूहमा छलफल भइरहेको छ ।

प्रतिक्रिया