जिल्लामा महिला तथा बालबालिका हराउने क्रम बढ्दो

सिन्धुली । जिल्लामा दुई वर्षको अवधिमा १ सय ६१ महिला हराएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सिन्धुलीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा ७४ महिला हराएको निवेदन आएको थिए भने ०७६/७७ मा ८७ महिला हराएको निवेदन आएका छन् । हराएका महिला मध्ये ८३ जना मात्र फेला परेका छन् । बाँकी ७८ जना महिलाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७५/७६ मा हराएका ७४ महिला मध्ये ४४ जना फेला परेका छन् । आर्थिक वर्ष ०७६÷७७ मा हराएका ८७ महिला मध्ये ३९ जना फेला परेका छन् ।

यस्तै दुई वर्षको अवधिमा ६७ बालिका हराएका छन् । आर्थिक वर्ष ०७५/७६ मा ३१ जना र ०७६/७७ मा ३६ जना बालिका हराएको निवेदन आएको डिएसपी लामाले बताए । हराएका बालिका मध्ये ५५ जना बालिकाको जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ भने बाँकी १२ जना बालिकाको खोजी कार्य भइरहेको छ । जिल्लामा दुई वर्षको अवधिमा १३ जना बालक हराएका छन् । आर्थिक वर्ष ७६/७७ मा नौ र आर्थिक वर्ष ०७७/७८ मा चार जना बालक हराएको निवेदन आएका थिए । हराएका १३ जना बालक मध्ये १२ जनाको उद्धार भएको छ भने एक बालकको खोजी कार्य भइरहेको छ । यस्तै दुई वर्षको अवधिमा चार जना ज्येष्ठ नागरिक हराएका छन् । आर्थिक वर्ष ०७६/७७ मा दुई जना र ०७७/७८ मा दुई जना ज्येष्ठ नागरिक हराएको निवेदन आएको थियो । ती मध्ये दुई जनाको उद्धार भएको छ भने बाँकी दुईको खोजी कार्य भइरहेको डिएसपी लामाले बताए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द थपलिया पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा बालबालिका हराउने गरेको बताउँछन् । उनका अनुसार बालबालिका भने अभिभावकको संरक्षण अभावमा हराउने गरेका छन् । ‘कुनै बालबालिका आमाबाबु मध्ये एक जनासँग बसेको हुन्छ । आमा वा बाबुले अर्कैसँग विवाह गर्ने जस्ता कारणले बालबालिकालाई पर्याप्त माया दिन सकेका हुँदैनन् ।

जसका कारण बालबालिका परिवारलाई थाहै नदिएर हराउँछन्,’ एसपी थपलियाले भने, ‘कतिपय साथीभाइको लहैलहै, कसैको बहकाउ तथा नयाँ ठाउँमा जाने लोभले हराउने गरेका छन् ।’ उमेर पुगेका महिला भने परिवारका सदस्यलाई थाहा नै नदिई आपूmखुसी विवाह गर्ने गरेको कारण परिवारले हराएको भनि निवेदन दिने गरेको एसपी थपलियाले बताए । ‘महिलाहरू बढी परिवारको सदस्यलाई जानकारी नगराई विवाह गरेर जाने गरेकाको निवेदन वढी छ ।’ उनले भने, ‘हराएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकको खोजी कार्य भने भइरहेको छ ।’ ज्येष्ठ नागरिकको सवालमा बढी मात्र मानसिक सन्तुलन गुमाएर हराउने गरेको एसपी थपलियाले बताए ।

प्रतिक्रिया