मैत्रीपूर्ण खेलमा विमल र साम्बा दर्शक

दोहा । दुवै फुटबलका लागि नभई उचारका लागि त्यहाँ पुगेका हुन् । विमल गत वर्ष र सावित्रा असारमा त्यहाँ पुगेका हुन् । उनीहरुको कतारस्थित एउटै अस्पतालमा उपचार भएको थियो । राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान विमल गत पुस ३ गते घाइते भएका थिए । सावित्रा भने विमलको शल्यक्रियाको केहि दिन अघि फागुन ३ गते एपिएफबाट राष्ट्रिय महिला लिग खेल्ने क्रममा घाइते भएकी थिइन् । दुवैको घुँडामा चोट लागेको थियो । विमलको फागुन २५ गते घुँडाको शल्यक्रिया भएको थियो ।

कोरोना महामारीका कारण सावित्रा चोट लागेको ५ महिनापछि कतार पुगेकी थिइन् । असार ३१ गते सावित्राको दायाँ घुँडाको शल्यक्रिया भएको थियो । विमल अब केही समयपछि मैदान फर्कने तयारीमा छन् भने सावित्रालाई मैदान फर्कन अझै ८ महिना लाग्न सक्ने अनुमान छ । दुवैले आफ्नो उपचार रिकभरी सोचे भन्दा राम्रो भइरहेको बताएका थिए ।

उनीहरु कतारमै भएका बेला राष्ट्रिय फुटबल टोली पनि त्यहि पुगेको छ । राष्ट्रिय टोली माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार पुगेको हो । दुई साता त्यहाँ प्रशिक्षण गरेपछि टोली असोज ११ गते माल्दिभ्स पुग्नेछ । राष्ट्रिय टोलीले शनिबार दोहामा स्थानीय अल बिदा स्पोर्टस क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यहि खेल हेर्न विमल र सावित्रा पनि पुगेका थिए । अधिकांश खेलाडीलाई मौका दिइएको खेलमा अन्जन विष्ट र अनन्त तामाङले गोल गर्दा नेपाली टोली २–० ले विजयी भएको थियो ।

टोलीसँग धेरै पछि भेट्दा खुसी लागेको विमलले बताएका छन् । ‘टिमबाट टाढा हुँदा झन बढी मिस हुने । कहिले मैदान फर्कौ जस्तो हुन्छ, रिह्याबको अन्तिम चरणमा रहेका विमलले भने,‘ टोली विगतमा भन्दा बलियो र स्पिडी भएको महसुस गरे । टोलीको खेल हेर्दा उत्साहित भए ।’

प्रतिक्रिया