एट्लेटिको शीर्षस्थानमा

लण्डन । घरेलु मैदानमा एथलेटिको बिल्वाओसँग बराबरीमा रोकिएपनि साविकको विजेता एट्लेटिको म्याड्रिड स्पेनिस लालिगाको शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फालेका थिए । १५औं मिनेटमा एन्टोइन ग्रिजमनले सुवर्ण अवसर खेर फाल्दा एट्लेटिको अग्रता लिनबाट चुक्यो ।

४७औं मिनेटमा रेनान लोडीको पासमा एन्जल कोरेआको प्रहारलाई बिल्वाओका गोलरक्षक युनाई सिमोनले बचाए । ४९औं मिनेटमा जोस जिमिनेजको गल्तीमा इनाकी विलियम्सले सुवर्ण अवसर खेर पाल्दा बिल्वाओले अग्रता लिन सकेन । ७६औं मिनेटमा मार्काेस लोरेन्टेको प्रहार पोस्टमा लाग्दै बाहिरियो । ७८औं मिनेटमा घरेलु टोली एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । जोआओ फेलिक्स दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको दवावमा परेको थियो । ९०औं मिनेटमा एलेक्स बेरेनगुएरले सुवर्ण अवसर खेर पाल्दा बिल्वाओ जितबाट वञ्चित बन्यो ।

बिल्वाओसँग गोलरहित बराबरीमा रोकिएपनि एट्लेटिकोले एक खेल कम खेलेको रियल म्याड्रिड र भ्यालेन्सियालाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । अपराजित रहेको एट्लेटिकोको ३ जित र २ बराबरीका साथ ११ अंक पुगेको छ । एक खेल कम खेलेका अपराजित रहेको रियल म्याड्रिड र भ्यालेन्सियाको समान १० अंक छ । एट्लेटिकोसँग बराबरीमा रोकिएपछि बिल्वाओले भने शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा ९ अंकसहित चौथो स्थानमा रहेको छ । समान ९ अंक नै रहेपनि बिल्वाओले एक खेल कम खेलेको रियल सोसिडाडलाई पछि पारेको छ ।

प्रतिक्रिया