टुंगियो कांग्रेसको क्रियाशील विवाद

काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद लगभग टुंग्याएको छ । २० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो । २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई सार्वजनिक भइसकेको छ भने बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइएको नेताहरुले बताएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो । यद्यपि रसुवाको क्रियाशील सदस्यता विवाद भने सल्टिन बाँकी छ । तीन नेताले गरेको सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई दिइएको छ ।

प्रदेश २ का आठ वटै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन । सदस्यता छानविन समिति सदस्य रहेका केन्द्रीय सदस्य आनन्द ढुंगानाका अनुसार बाराबाहेक सबै सातवटै जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको छ । बाराको विवाद मिलिसकेको छ, र सोमबारसम्म क्रियाशील सदस्यको नाम वेवसाइटमा इन्ट्री गरेर पनि सकिने उनले बताए । ‘सदस्यतामा विवाद पहिल्यै सकिएको हो, तर कार्यान्वयनमा केही विवाद थियो । अब हामीले त्यो पनि सल्टाएका छौं,’ उनले भने, ‘बारामा पनि कुरा मिलिसक्यो । सोमबार सबै साथीहरुलाई बोलाएर सदस्यता इन्ट्री गर्छाैं ।’

उनका अनुसार बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र – १ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ भने निर्वाचन क्षेत्र–२ को १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुनेछ । क्षेत्र नं. ३ को कलैया उपमहानगरपालिकाका केही वडामा पनि नयाँ सदस्यता स्थगन गरिएको छ । सप्तरी जिल्लाको निर्वाचन क्षेत्र १, २ र ४ मा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया शुरु हुनेछ । सर्लाहीको क्रियाशील सदस्यता टुंगिएर छपाइमा गइसकेको केन्द्रीय सदस्य ढुंगानाले जानकारी दिए ।

रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद थियो । त्यहाँ अब सदस्यता थप गर्ने सहमति गरेका छन् । ‘१३ औं महाधिवेशनका २१६ क्रियाशील सदस्यता संख्या केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको निर्णयपछि केन्द्रबाट हटाइएको थियो, अब ती संख्या फेरि थप गर्ने सहमति भएको छ,’ एक सदस्यले भने । पर्साको वीरगञ्जमा सदस्यता छानविन समितिका संयोजक रमेश लेखक, आनन्द ढुंगाना र जीवन परियारसहित रौतहटका सबै पक्षका नेताहरुसँग छलफल गरेर सहमति भएको हो । लेखक संयोजक रहेको समितिले प्रदेश दुईका बारा र सप्तरीको क्रियाशील सदस्यता फाइल नै खोलेको थिएन भने सर्लाही– २ र धनुषा–४ को विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो ।

धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र– ४ को वट्टेश्वर नगरपालिका–५, क्षिरेश्वर नगरपालिका–१० मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ । त्यस्तै मिथिला बिहारी नगरपालिका–६ र १०, लक्ष्मीनिया गाउँपालिका – १ र २ मा वडा सभापतिले सिफारिस गरेकालाई मात्रै मान्यता दिने समझदारी भएको छ । क्षिरेश्वर नगरपालिका–७, लक्ष्मीनिया गाउँपालिका–३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका–२ र जनकपुर उपमहानगरपालिका–१९ मा वडा सभापतिले सिफारिस गरेका क्रियाशील सदस्यहरुले मात्रै मान्यता पाउने भएका छन् । अहिले स्थगन भएका नयाँ क्रियाशील सदस्यतालाई १४ औं महाधिवेशनपछि प्रक्रिया पु¥याएर दिने सहमति ती नेता रहेको कार्यदलले सहमति गरेको छ ।

धनुषाको निर्णय कार्यान्वयन गर्ने जिम्मा केन्द्रीय सदस्य आनन्द ढुंगाना र जीवन परियारलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको सदस्यता छानविन समिति सदस्य योगेन्द्र चौधरीले बताए । उनका अनुसार टीकापुर नगरपालिका–१ मा नयाँ स्थगन गरेर पुरानाबाटै अधिवेशन हुने सहमति भएको छ । नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा वडाले पेश गरेको सूची र क्षेत्रीय सभापतिले पेश गरेको सूचीमा विवाद देखिएपछि नवीकरणलाई मात्रै मान्यता दिइएको हो । त्यस्तै नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका नेता मोहनसिंह राठौरलाई कांग्रेसको पुराना क्रियाशील सदस्यता संख्यामा शतप्रतिशतभन्दा नबढ्ने गरी कायम गर्ने समझदारी नेताहरुले गरेका छन् ।

कांग्रेस प्रवेश गरेका आशाराम चौधरीलाई १२५ जना थप क्रियाशील सदस्यता दिने र समता पार्टीबाट बर्दगोरिया गाउँपालिकामा पाँच जना क्रियाशील सदस्यता थप गर्ने नेताहरुबीच सहमति भएको छ । कैलालीको निर्णय कार्यान्वयनको जिम्मा नेताहरु जीवन परियार र योगेन्द्र चौधरीलाई दिइएको छ ।

बर्दियाको मधुवन नगरपालिका–३ मा अखण्ड नेपालबाट ३१ जनालाई क्रियाशील सदस्यता थप गर्ने समझदारी भएको छ । डोल्पामा पनि विवाद मिलेको छ । राप्रपाबाट प्रवेश गरेका कर्णबहादुर बुढालाई एक हजार क्रियाशील सदस्यता दिने निर्णय गरेकोमा समितिले जम्मा २५० सदस्यता स्वीकृत गरेको थियो ।

वडा अधिवेशनमा समायोजनबाट आएका व्यक्तिले जितेमा क्रियाशील सदस्यता थप गर्ने समझदारी भएको छ । ‘डोल्पामा सबै वडामा कांग्रेसको संगठन छैन, अहिले अधिवेशनमा जहाँ जहाँ उहाँ(बुढा)का मान्छेहरुले जित्छन्, त्यहाँ हामी थप क्रियाशील सदस्यता दिन्छौं,’ योगेन्द्र चौधरीले भने ।

सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताएका छन् । ‘जहाँ ५ असोजमा वडा अधिवेशन हुन्छ, त्यहाँ कार्यतालिका अनुसार नै काम हुन्छ, जहाँ त्यो दिन भएन, अरु दिन भएपनि वडा अधिवेशन गराएर अगाडि बढ्छौं,’ उनले भने, ‘अब कार्यतालिका परिमार्जन हुँदैन ।’ कांग्रेसमा लामो समय क्रियाशील सदस्यता विवाद नटुंगिदा पटकपटक महाधिवेशनको मिति सर्दै आएको छ । नयाँ कार्यतालिका अनुसार कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया