आगामी निर्वाचनसम्म ओलीको कम्पनीमा ठूलो पहिरो जान्छ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आगामी निर्वाचनसम्म नेकपा एमालेमा ठूलो पहिरो जाने दाबी गरेकी छन् । एकीकृत समाजवादी सिन्धुलीको जिल्ला कमिटी शपथग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेकी हुन् । उनले एमालेलाई खड्गप्रसाद ओलीको कम्पनीको संज्ञासमेत दिएकी छन् ।

‘खड्गप्रसाद ओलीको कम्पनी भत्किने क्रम सुरु भइसकेको छ। स्थानीय र केन्द्रसम्मको चुनावसम्म पार्टीमा पहिरो जान्छ,’ उनले भनिन्, ‘हामीलाई जनप्रतिनिधि नभएकाले दुई महिना पर्खिन भनेका छन् जनप्रतिनिधि भएकाले १५ महिना भनेका छन्। त्यसपछि अन्तिम बाटो त समाजवादी पार्टी नै हो ।’

उनले नयाँ पार्टी दर्ता गर्दा साथ नदिएका नेताहरुलाई भगौडाको संज्ञा दिँदै उनीहरुको हविगत एमालेले गर्ने भनिएको १०औं महाधिवेशनमा देखिने बताइन् । विद्रोह प्रारम्भमा सानैबाट सुरु हुने भन्दै उनले यसले विस्तारै ठूलो आकार ग्रहण गर्दै जाने बताइन् । विचार समूहका हिसाबले आफूहरुसँग रहेकाहरुले नै अन्तिममा डस्ने काम गरेको उनको आरोप थियो । ‘ओलीको कम्पनी’मा बस्ने अवस्था नभएपछि सहज निकास खोजेर निस्केको भन्दै उनले केन्द्र मात्रै नभएर वडा तहसम्म नै विद्रोह गरिएको बताइन् ।

प्रतिक्रिया