कांग्रेसमा कसले मार्ला बाजी ?

विन्दुकान्त घिमिरे

निधिले देउवालाई सिधै चुनौती दिएका छन् । निधिले दिएको यो चुनौती कुनै ठूलो कुरा भने होइन । गिरिजाप्रसाद कोइराला र रामचन्द्र पौडेलबीच राजनीतिक हैसियतमा जुन फराकिलो अन्तर थियो, त्यस्तो अन्तर देउवा र निधिबीच छैन । उमेरमा केही अन्तर भए पनि राजनीति योगदान तथा निरन्तरताका हिसाबले देउवा र निधिमा खासै ठूलो अन्तर छैन ।

१४औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा सत्तारूढ नेपाली कांग्रेसभित्र परम्परागत गुट भत्कँदै नयाँ गुटहरू अस्तित्वमा आउन थालेका छन् । राजनीतिक दलभित्र गुट र उपगुट हुनु अस्वभाविक होइन, गुट तथा उपगुटलाई राजनीतिक दलको चरित्र नै मानिन्छ, तर गुट तथा उपगुटहरू संस्थागत हुनु राम्रो मानिन्न । २००५ सालमा दुई वटा पार्टी एकीकरण भएर नेपाली कांग्रेस स्थापना भएको हो । सुवर्णशमशेर राणाको निधन नहुँदासम्म स्थापनाकालदेखिका दुई धार कांग्रेसमा कायमै थिए । ०३५ सालमा सुवर्णशमशेरको निधनपछि करिब चार वर्षसम्म बिपी कोइरालाको एक छत्र नेतृत्व रह्यो । कुनै धार उपधार देखा परेनन् । ०३९ सालमा बिपीको निधन पछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको नेत्वमा पार्टी पुग्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा छुट्टै धार अस्तित्वमा आयो ।

यतिबेला गणेशमान र भट्टराईको नेतृत्वमा रहको धार शेरबहादुर देउवा समूहको रूपमा चिनिँदै आएको थियो । यो धार अब विभाजित भएको छ । यो धारबाट वर्तमान सभापति देउवा र उपसभापति विमलेन्द्र निधिले सभापति पदको उम्मेदवारी घोषणा गरेका छन् । कोइराला समूह हुँदै गत महाधिवेशनदेखि रामचन्द्र पौडेल समूहका रूपमा चिनिँदै आएको धार पनि विभाजित भएको छ । यो धारबाट पौडेल र डा. शेखर कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् ।

आसन्न १४औँ महाधिवेशनमा मुख्य प्रतिस्पर्धा भनेको यी चार वटा प्यानलबीच हो । उम्मेदवारी मनोनयनका बेलासम्म चारबाट घटेर तीन हुने संभावना पनि जीवितै छ, तर दुई हुने संभावना भने अत्यन्त कम छ । विगतमा गिरिजाप्रसाद कोइराला बाचुन्जेल उनको समूहबाट कसैले सभापति पदमा उम्मेदवारी घोषणा गर्ने हिम्मत गरेको देखिएन । लगातार दुई कार्यकालभन्दा बढी सभापति पदमा उम्मेदवार बन्न नपाइने वैधानिक प्रावधानलाई चुनौती दिँदै कोइराला तेस्रोपटक ११औँ महाधिवेशनमा पनि सभापति पदमा उम्मेदवार बने । कोइराला समूहभित्र रामचन्द्र पौडेलको हैसियत उत्तराधिकारीका रूपमा भन्दा पनि कर्मचारीका रूपमा सीमित हुन पुग्यो । जसका कारण पौडेल पछि परे । जुनबेला पौडेलले आफ्ना अग्रजहरूलाई उमेरका कारण विश्राम लिनुपर्ने सुझाव दिइरहन्थे त्यो उमेर पौडेलले अहिले गुजारीसकेका छन् । त्यसैले पौडेल समूहभित्र डा. शेखर कोइराला , प्रकाशमान सिंह तथा डा. शशांक कोइराला अघि सर्नुलाई स्वभाविक मानिएको छ ।

‘विगतमा कोइराला समूहमा पौडेलको जे हैसियत थियो, यतिबेला देउवा समूहमा निधिको पनि त्यही हैसियत हो’ भन्ने विश्लेषण धेरैले गरेका थिए । निधि देउवा समूहको अंशियार नभएर कर्मचारी मात्रै हुन् कि ? भन्ने धेरैको अनुमान यतिबेला फेल भएको छ । निधिले देउवालाई सिधै चुनौती दिएका छन् । निधिले दिएको यो चुनौती कुनै ठूलो कुरा भने होइन । गिरिजाप्रसाद कोइराला र रामचन्द्र पौडेलबीच राजनीतिक हैसियतमा जुन फराकिलो अन्तर थियो, त्यस्तो अन्तर देउवा र निधिबीच छैन । उमेरमा केही अन्तर भए पनि राजनीति योगदान तथा निरन्तरताका हिसाबले देउवा र निधिमा खासै ठूलो अन्तर छैन ।

देउवा नेपाली कांग्रेसको राजनीतिमा सक्रियताका साथ देखापरेको ०२२ सालदेखि हो । निधि २०२६ सालमा १४ वर्षको उमेरमै जेल परिसकेका थिए । ०२९ सालमा देउवा नेविसंघको दोस्रो महाधिवेशनद्वारा अध्यक्ष निर्वाचित हुँदा निधि केन्द्रिय सदस्य बनेका थिए, त्यस लगत्तै तेस्रो महाधिवेशनद्वारा निधि नेविसंघको अध्यक्ष बने । नेविसंघका तर्फबाट स्ववियु सभापति निर्वाचित हुने पहिलो विद्यार्थी नेताका रूपमा निधिले कम उमेरमै नेविसंघको केन्द्रीय सदस्य बन्ने अवसर पाएका हुन् । नेविसंघको राजनीतिमा देउवा र निधिलाई को बढी को घटी भनेर मूल्यांकन गर्न मिल्दैन । ०४६ सालको जनआन्दोलन सफल हुँदासम्मको अवस्थालाई मूल्यांकन गर्ने हो भने देउवाको भन्दा निधैकै पल्ला भारी देखिन्छ ।
तर, ०४८ सालको आमनिर्वाचनमा टिकट वितरण हुँदा निधिमाथि धेरै नै ठूलो अन्याय भयो । नेविसंघका सबै पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष समेतले टिकट पाए तर निधि मात्रै वञ्चित भए । पिताजी महेन्द्रनारायण निधि उम्मेदवार बनेपछि छोरा निधि उम्मेदवार नभए पनि हुने तर्क राखियो । एउटै परिवारबाट दुई जना उम्मेदवार हुँदा गलत सन्देश जाने बहाना बनाइयो । तर, गणेशमान सिंहको परिवारबाट श्रीमती मंगलादेवी सिंह र छोरा प्रकाशमान सिंहलाई उम्मेदवार बनाइयो । कोइराला परिवारबाट गिरिजाप्रसाद कोइराला, भाञ्जी शैलजा आचार्य, बुहारी लीला कोइराला, भाइ सुशील कोइरालालगायत करिब आधा दर्जन उम्मेदवार बने । यता देउवा भने ०४८ सालमा गृहमन्त्री हुँदै ०४९ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बने । ०५१ सालको मध्यावधि निर्वाचनमा पिता निधि नैतिकताका आधारमा उम्मेदवार नबने पछि मात्रै छोरा निधिको पालो आयो । आमनिर्वाचन लगत्तै देउवा नेपाली कांग्रेसको संसदीयदलको नेता बने । निधिको भन्दा देउवाको हैसियत एक्कासि माथि पुग्यो । देउवा सरकारमा निधि मन्त्री बने ।

०५३ सालमा सम्पन्न नेपाली कांग्रेसको नवौँ महाधिवेशनमा पाँच विकास क्षेत्रबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रावधान राखियो । यो प्रावधानपछि निधि मध्यामाञ्चल विकास क्षेत्रबाट केन्द्रीय सदस्य पदमा चुनाव लडे, तर भीमबहादुर तामाङबाट पराजित भए, तर प्रधानमन्त्रीसमेत रहेका देउवा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भए । ०५७ सालमा सम्पन्न १०औँ महाधिवेशनमा कृष्णप्रसाद भट्टराई पक्षबाट निधि सभापति पदका स्वभाविक उम्मेदवार थिए । त्यतिबेला भट्टराईले निधिलाई भनेका पनि थिए, ‘०४८ सालको आमनिर्वाचनमा तिमीमाथि भएको अन्यायको बोधले म छट्पटिएको छु, त्यसको क्षतिपूर्ति स्वरूप हाम्रो समूहबाट अब तिमीलाई सभापतिको उम्मेदरवारका रूपमा अघि सार्ने सोच बनाएको छु ।’ तर, निधिले बहालवाला सभापति तथा प्रधानमन्त्री कोइरालासँग प्रतिस्पर्धाका लागि आफूले आँट गरेनन् । कोइराला समूहबाट देउवालाई फुटाएर आफ्नो समूहमा ल्याउने र सभापतिको उम्मेदवार बनाउने रणनीति अघि सारे । यो रणनीतिलाई सन्त नेता भट्टराईले नाइँ नास्ती गरेनन् ।

यसरी ०५७ सालमा पोखरामा सम्पन्न १०औँ महाधिवेशनमा भट्टराई समूहबाट देउवा सभापतिको उम्मेदवार बने भने निधि केन्द्रीय सदस्यको । त्यहीबेलादेखि देउवा र निधिको हैसियत समकक्षीका रूपमा नभएर नेता र कार्यकर्ताका रूपमा परिवर्तन भयो । ०५७ यता देउवा चारपटक सभापतिको उम्मेदवार बने । यस क्रममा देउवाको मुख्य रणनीतिकार निधि थिए । देउवालाई एकपटक सभापतिमा जिताउने र त्यसपछि देउवाको सहयोगमा आफू सभापति बन्ने रणनीति अवलम्वन गरेको निधि बताउने गर्थे । तर, देउवाको नातागोता एवं पारिवारिक किचेन क्याबिनेटले भने निधिलाई आफ्नो समूहको मुख्य रणनीतिकारका रूपमा नभएर झोला बोक्ने कार्यकर्ता ठानेको रहेछ । जुन कुरा आइजिपी प्रकरण तथा प्रधानन्यायाधीश सुशीला कार्की माथिको महाअभियोगको प्रकरणमा छताछुल्ल भयो । कोइराला समूहमा रामचन्द्र पौडेलको जे हैसियत हो देउवा समूहमा निधिको पनि त्यही हैसियत हो भन्ने ठम्याइमा देउवाको कोर ग्रुप रहेछ भन्ने कुरा यतिबेला पुष्टि भइसकेको छ ।

जसरी गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको झोला बोक्दा बोक्दा गलिसकेका पौडेलले अब डा. शेखर या शशांक कोइरालाको झोला बोक्नुपर्ने दिन नजिकिएको अनुमान गरिएको छ, त्यसरी नै लगातारर चार वटा महाधिवेशनमा देउवाको झोला बोकेका निधिले भावि दिनमा आरजु राणा र त्यसपछि जयवीरसिंह देउवाको झोला बोक्ने दिन आउने अनुमान गर्नेहरू पनि थिए । तर, यो अनुमानलाई निधिले झुठो सावित गरिदिएका छन् ।

वास्तवमा निधिको उम्मेदवारी देउवा समूह भित्रको मात्रै भुइँचालो होइन, नेपाली कांग्रेसको इतिहासकै सबैभन्दा ठूलो संक्रमण हो । स्थापनादेखि ७५ वर्षसम्म नेपाली कांग्रेसको नेतृत्व एउटै समुदायका नेताहरूबाट हुँदै आएको छ । नेपाल जनसंख्याका आधारमा खसआर्य, जनजाति र मधेसी गरी तीन वटा समुदायको बराबरजस्तै हैसियत भएको देश हो । यी तीन वटा समुदायमध्ये पनि विगतमा नेपाली कांग्रेसले सबैभन्दा बढी साथ सहयोग पाउँदै आएको मधेसी समुदायबाट नै हो । ०१५ सालदेखि ०५६ सालसम्मका हरेक निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टीका रूपमा दर्ज हुनको कारण मधेसी समुदायको साथ समर्थन नै हो भन्ने कुरामा कहीँ कतै विवाद छैन । जब ०६४ सालको आमनिर्वाचनदेखि मधेसीदलहरू आक्रामक रूपमा देखा परे त्यसपछि नेपाली कांग्रेस पहिलो पार्टीबाट खस्केर दोस्रो पार्टीमा झ¥यो । मधेसको साथ नपाउनासाथ नेपाली कांग्रेस दोस्रो पार्टीमा झरेको हो । जबसम्म नेपाली कांग्रेसले मधेसमा पुरानो साख फिर्ता ल्याउँदैन तबसम्म पहिलो पार्टी बन्ने संभावना रहँदैन । कुल जनसंख्याको करिब ५३ प्रतिशतभन्दा बढी बसोवास तराईका २१ जिल्लामा छ । मुलुकका ७७ जिल्ला मध्ये करिब ५३ प्रतिशत सिट तराईका २१ जिल्लामा छ ।

नेतृत्वका लागि निश्चित समुदायको हुँदैमा पुग्दैन, हैसियत पनि हुनुपर्छ । विगतमा बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको तुलनामा आफ्नो हैसियत बनाउन मधेसी समुदायका नेताहरूले नसकेकै हुन् । रामनारायण मिश्र उमेर छँदै बिते, गजेन्द्रनारायण सिंह, महन्थ ठाकुर, परशुनारायण चौधरी, विजयकुमार गच्छदारले मैदान छाडे । नेपालको राष्ट्रपति बन्ने ऐतिहासिक सौभाग्य प्राप्त भएपछि डा.रामवरण यादव सक्रिय राजनीतिबाट अलग हुनु अत्यन्त स्वभाविक सन्देश हो । अब मधेसी समुदायबाट नेपाली कांग्रेसको सभापति बन्ने हैसियतमा पुगेका नेतामध्ये निधि मात्रै बाँकी छन् । निधिको सदुपयोग गर्न कांग्रेस अहिले चुक्यो भने फेरी यस्तो मौका पाउन धेरै दशक पर्खनुपर्नेछ ।

‘हामीले सधँै कांग्रेसलाई साथ दियौँ, तर कांग्रेसले हामीलाई के दियो ?’ भन्ने प्रश्न मधेसी समुदायको पढेलेखेका नयाँ पुस्ताले गर्न थालिसकेको अवस्था छ । यो भनेको नेपाली कांग्रेसका लागि संक्रमणकाल हो । जुन बेला तराईमा ४२ प्रतिशत मात्रै जनसंख्या थियो, त्यो बेला पनि बिपी कोइरालाले परशुनारायण चौधरीलाई भावि प्रधानमन्त्री र विमलेन्द्र निधिलाई नेविसंघको सभापति बनाएर एउटा सन्देश दिएका थिए । तर, चौधरी आफ्नै कमजोरीले प्रधानमन्त्री बन्न सकेनन् । निधिले भने ०३६ सालमा बिपी कोइरालाले दिएको जिम्मेवारीलाई अवचिलित रूपमा अघि बढाइरहेका छन् ।

प्रतिक्रिया