संघले सौतेनी आमा र प्रदेश सरकारले आफ्नै आमाजस्तो व्यवहार गरिरहेको छ

धीरबहादुर बिष्ट, अध्यक्ष – नरहरिनाथ गाउँपालिका, कालिकोट

स्थानीय तहको चुनाव सम्पन्न भएर पनि पुनः चुनाव हुने समय आइसक्यो । जिल्लाको नरहरीनाथ गाउँपालिकामा विकास निर्माणका दृष्टिकोणले के कस्ता परिवर्तन भए र आगामी दिनमा योजनाहरू के के छन् त ? प्रस्तुत छ, सौर्य दैनिकका जिल्ला संवाददाता हस्त चौलागाईंले गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टसँग गरेको कुराकानीको सारसंक्षेप ।

 

कार्यकालको अन्तिम वर्षतिर हुनुहन्छ, यो कार्यकाललाई आफैंले कसरी मूल्यांकन गर्नुहुन्छ ?
आफूले आफैंलाई मूल्यांकन गर्नुभन्दा पनि जनताले जनप्रतिनिधिको मूल्यांकन कसरी गर्छन् भन्ने हो । आफूले आफैंलाई बुझ्दा त नागरिकहरूको इच्छाअनुसार काम गरेको छु । समुदायमा आधारित योजनाहरू बाँडफाँड गरेको छु । चार वर्षको अवधिमा विभिन्न भौतिक निर्माणका कामहरू गरेका छौँ । छोटकरीमा भन्दा नागरिकहरूले सरकारको मुख ताक्ने बानी अझै छोडेका छैनन् । नागरिकहरूका इच्छा आकांक्षाहरू पूरा गर्नका लागि लागिरहेको छु र पनि फरकफरक विचारका नागरिकहरू हुँदा चित्त बुझाउन त्यति सकिएको छैनजस्तो लाग्छ ।

 

जनताले साँच्चीकै संघीयता पाएको महसुस गरेका छन् त ?
पहिला सानातिना कामका लागि बाहिर जिल्लामा जानुपथ्र्यो । जनताले त साँच्चीकै संघीयता आएको महसुस गरेका छन् । १ सय ४ वर्षमा राणाले, ३० वर्षमा पञ्चायतले विकास गर्न सकेन, २९ वर्षमा बहुदलले गर्न सकेन तर संघीयता आएको चार वर्षमा धेरै परिवर्तन भएको नागरिकहरूले महसुस गरेका छन् ।

 

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत अधिकारका क्षेत्रमा भएका खास परिवर्तनको बारेमा केही भन्दिनु न ?
शिक्षाका दृष्टिकोणले कुरा गर्नुहुन्छ भने पहिला उच्च शिक्षा हासिल गर्नकै लागि सुर्खेत, काठमाडांै जानुपथ्र्यो विद्यार्थीलाई । अहिले स्थानीय सरकार आइसकेपछि विभिन्न निकायको पहलमा माविहरू बने, विषय र दरबन्दी अनुसारका शिक्षकहरू छन् । विषयगत शिक्षकको कमीका कारण बालबालिकाले रोजेको विषय पढ्न मुस्किल थियो । अहिले त्यो समस्या टरेको देख्छु ।

 

स्वास्थ्यका क्षेत्रमा नि ?
स्वास्थ्यका क्षेत्रमा भन्नुहुन्छ भने स्थानीय सरकार नहुँदा पहिला सानातिना रोग लाग्ने बित्तिकै सदरमुकाम आउनुपथ्र्यो । अप्ठ्यारो बाटो, सडक छैन । बिरामीलाई ढोकामा बोक्नुपर्ने अवस्था थियो । अहिले यी सबै समस्याहरूको समाधान भएर प्रत्येक टोलटोलमा आधारभूत स्वास्थ्य इकाई छन् । वडा पालिका र गाउँपालिकाको केन्द्रमा जिल्लाकै दोस्रो ठूलो अस्पताल सञ्चालनमा ल्याएका छौँ । दक्ष डक्टरहरू छन् । प्रसूतिका लागि आवश्यक परे पालिका सरकारको पहलमा हेलिकोप्टरमार्फत उद्धारजस्ता कामहरू गरिरहेका छौँ । अब रह्यो खानेपानीका विषयमा कुरा, घण्टाँै लगाएर पानी ल्याउने मान्छेहरू थिए । धारामा, कुवामा गएर लाइन बस्नुपर्ने अवस्था थियो । पानीकै अभावका कारण सिँचाइ गर्न पाएका थिएनन् । अहिले हामीले एक घर एक धारा सञ्चालनमा ल्याएका छाैं ।

 

तथ्यांकको आधारमा भन्दा कुन कुन क्षेत्रमा के के परिवर्तन भएको छ त ?
तथ्यांकको आधारमा भन्नुपर्दा नरहरिनाथ गाउँपालिकाको लालुको गानेश्वर भन्ने ठाउँमा पानी कहिल्यै हँुदैनथियो । दुई/तीन घण्टा लगाएर ल्याएको पानी खानुपर्ने अवस्था थियो । अहिले त्यो समस्या टर्यो । यसैगरी नरहरिनाथ गाउँपालिकाको बल्ले भन्ने ठाउँमा पनि पानीको हाहाकार थियो, स्थानीय सरकारले पानीको व्यवस्था ग¥यो । ०४२ सालमा निर्माण थालिएको सुनथराली विमानस्थलको काम बन्द थियो । अब केही समयमै विमानस्थल सञ्चालनमा आउँदै छ । पहिरो पीडितका लागि ५० वटा घर निर्माण ग¥यो । सडकले नछोएको गाउँपालिका भनेर चिन्थे, अहिले सडक पुग्यो । यस्तै थुप्रै किसिमका विकासहरूमा परिवर्तन भएको देख्छु ।

 

बेरोजगारी समस्याको बारेमा पनि केही परिवर्तन भएको छ कि ?
परिवर्तन भन्ने हो भने थुप्रै भएको देख्छु । स्थानीय सरकार आइसकेपछि विभिन्न योजनाहरूमा उपभोक्ता समिति बनाइयो । जो विदेश जान्थे उनिहरू नै उपभोक्ता बने । गाउँपालिकाका विभिन्न शाखाहरूमा आवश्यक कर्मचारी नहुँदा करारमा कर्मचारी भित्राइयो, हरेक विकास निर्माणमा युवाहरू परिचालन गरेका छौँ । यसका कारण बेरोजगारी समस्या अन्त्य भएको त छैन तर केही मात्रामा परिवर्तन भने अवश्य भएको छ । कृषजन्य बस्तु उत्पादनका लागि कृषकहरूलाई थप सामग्री र अन्य सहयोग गरेका छाँै । यसकारण पनि रोजगार पाएका छन् ।

 

स्थानीय सरकार चलाउन खास समस्या के के रहेका छन् ?
स्थानीय सरकार चलाउन गाह्रो छ । जनताको बीचमा स्थानीय सरकार रहेकाले जनता हरेक समस्याहरू, विभिन्न विवादहरू भएकाले स्थानीय सरकार चलाउन त्यति सजिलो छैन । भौगोलिक विकटताका कारण पनि विकास हुन सकेको छैन । सडक खन्ने काम, धारो बनाउने काम, मठमन्दिर बनाउने कामका लागि जग्गाको विषयमा विवाद हुने भएकाले पनि स्थानीय सरकार चलाउन गारो भइरहेको छ । आवश्यकताअनुसार दरबन्दीका कर्मचारी नहुँदा पनि समस्या र चुनौती थुप्रै देखिन्छन् । चुनौतीका बाबजुत पनि समस्या समाधान गरेर विकास गर्नतिर जनप्रतिनिधिहरू लागिरहेका छन् ।

 

स्थानीय प्राकृतिक स्रोतसाधनको उत्खनन् र उपयोग कतिको व्यवस्थित गर्नुभएको छ ?
अहिले हामीले जो प्राकृतिक स्रोत साधनहरू छन् त्यसको उपयोग र उत्खनन् बराबर भएको देख्छु । ढुंगा, बालुवा, गिट्टी सबै हामीले यता रोडतिर प्रयोग गरेका छौँ । अरू स्थानीय स्रोतसाधनहरू पनि ठाउँठाउँमा आवश्यकताको आधारमा प्रयोग गरिरहेका छाँै । अनि जडीबुटीहरूको पनि निर्यात भइरहेको छ । स्थानीय सरकारले राखेर एकैचोटी खोलेर पैठारी गर्ने काम भइरहेको छ ।

 

आर्थिक पारदर्शिताका चुनौतीहरू के कस्ता छन् ।
चुनौतीहरू भन्ने हो भने थुप्रै देखिन्छन् । मान्छेहरूले के गर्छन् भन्दा खेरी काम जिम्मा लिन्छन् । कामको जिम्मा लिइसकेपछि जनताहरूलाई ठग्ने काम भएको देखिन्छ उपभोक्तामार्फत । आर्थिकको रूपमा हेर्दा उपभोक्ताहरूबाट समस्या भित्रिएको छ । तर, यी समस्या आइरहँदा स्थानीय सरकारले यसलाई रोक्नका लागि आर्थिक पारदर्शितालाई चुनौतीका रूपमा नलिएर समस्या समाधानको बाटोतिर लागिरहेका छौँ । पालिकामा भने सम्पूर्ण कामहरू अनलाइनको माध्यमबाट हुँदा कहिले नेटले राम्रो काम गर्दैन । यसकारण पनि केही चुनौती भने अवश्य छ ।

 

संघ र प्रदेश सरकारको व्यवहार कस्तो पाउनुभएको छ ?
संघ र प्रदेशको कुरा गर्दा संघ सौतेनी आमा र प्रदेश आफ्नै आमाजस्तो व्यवहार गरिरहेका छन् । संघीय सरकारसँग त्यति नजिक छैनाैं तर स्थानीय सरकारसँग गहिरो सम्बन्ध रहेको छ । हरेक विकास निर्माणमा स्थानीय सरकारलाई प्रदेश सरकारले बढी साथ सहयोग गरिरहेको छ ।

 

तपाईंले चाहेर पनि गर्न नसकेका काम केही छन् ?
गर्न नसकेका भन्ने केही काम छैनन् । सबै कामतिर प्रयास गरियो तर भौगोलिक विकटताका कारण केही काम अधुरै रहे पनि आफ्नो कार्यकालसम्म कुनै काम पनि बाँकी नराख्ने लक्ष्यमा छु । जस्तै सडक काटियो, बर्खा लाग्यो भने भत्किएर सडक अवरुद्ध हुन्छ । यसलाई व्यवस्थापन गर्नका लागि नाली, जाली, मेसीनरी वाल लगाएर सडक मजबुद गर्ने काम बाँकी छ तर कार्यकालसम्म त्यो काम पूरा गर्ने लक्ष्यमा छु ।

अन्त्यमा थप केही भन्न चाहानुहुन्छ ।
०४२ सालदेखि निर्माण थालिएको सुनथराली विमानस्थलको काम अब केहीदिनमै सकाएर कालिकोटबाट निरन्तर प्लेन चल्ने बनाउने लक्ष्य रहेको छ । यसका लागि साथ सहयोग प्रदेश र संघीय सरकारसँग माग गरिरहको छु । ३६ वर्ष बितिसक्दा पनि एउटा विमानस्थल बन्न सकेन । करोडौँ रकम खर्चिंदा पनि नबनेको विमानस्थल अब छिट्टै बन्छ । यहाँका नागरिकहरूले आकाशमा प्लेन उडेको होइन, अब आफैं प्लेन चढ्नेछन् । चढाउने प्रतिवद्धता गर्न चाहान्छु ।

प्रतिक्रिया