कांग्रेसमा डडेल्धुरा विवाद : पौडेलमाथि ‘बेइमानी’को आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशन यतिबेला केन्द्रीय विवादको विषय बनेको छ । जिल्ला सभापति कर्ण मल्ल समूहद्वारा बहिस्कार गरिएको वडा अधिवेशनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ । डडेल्धुरामा क्रियाशील सदस्यताका विषयमा उत्पन्न विवादको बिउ अन्य जिल्लामा पनि रोपिने खतरा देखिन्छ । ०७७ फागुनमा गठित रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले अधिकांश जिल्लाको विवाद टुङ्ग्याएको थियो । समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र विजय गच्छदारका प्रतिनिधि सम्मिलित थिए ।

नीहरुले टुङ्ग्याउन बाँकी विवादित जिल्लाको समस्या समाधानका लागि नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले मापदण्ड बनाएको थियो । उक्त मापदण्ड अनुसार पनि कतिपय जिल्लाको विवाद किनारा लाग्न सकेको छैन । अझै १३ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक भएको छैन । केन्द्रीय कार्यसमितिले सर्वसम्मत पारित गरेको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन अनुसारको सदस्यता नेताहरुले स्वीकार्न नसक्दा समस्या आएको देखिन्छ । सिटौला नेतृत्वको समितिले सहमतिबाट मापदण्ड बनाएर कार्यान्वयनका लागि दिए पनि देउवा र पौडेलबीचको झगडाले रोकिएको छ । यसले फेरि पनि अधिवेशन तालिका प्रभावित हुने आशंका बढाएको छ ।

पछिल्लो समय कांग्रेसमा डडेल्धुराको विषय उग्र बन्दैछ । भदौ २८ गते वरिष्ठ नेता पौडेलले पत्रकार सम्मेलन गरी डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने बताएका थिए । बिहीबार पार्टी कार्यालय सानेपा पुगेर पौडेल समूहले पुनः अधिवेशन गराउन निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ । पुनः अधिवेशन गराउन नसक्ने संकेत निर्वाचन समितिले दिइसकेको छ ।

तर सभापति देउवाविरुद्ध वरिष्ठ नेता पौडेल र उपसभापति विमलेन्द्र निधिले डडेल्धुराको विषयलाई मुद्दा बनाएर जाने नीति अख्तियार गरेका छन् । सभापति देउवाले महाधिवेशन निष्पक्ष गराउनेमा डडेल्धुराबाटै आशंका पैदा भएको भन्दै पौडेल पक्ष आक्रामक रुपमा प्रस्तुत भएको छ । डडेल्धुराका जिल्ला सभापति कर्ण मल्ल भने सभापति देउवाको निर्देशनमा क्रियाशील सदस्यतामा बदमासी गरिएको बताउँछन् ।

उनले भने, ‘गत स्थानीय तहका निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएकाको सदस्यता नवीकरण गरिएको छ । आधिकारिक उम्मेदवार भएकाको नाम काटिएको छ । वडा अध्यक्षले पठाएको क्रियाशील सदस्यता सदर गरिएको छ भने वडा अध्यक्ष स्वयंको सदस्यता बदर गरिएको छ ।’ मल्लका अनुसार जिल्लाको ४३ वडामा तलबाट पठाइएको मान्छेको नाम छानीछानी काटिएको छ । कुन वडामा कति मान्छेलाई थपेर आफू चुनाव जित्न सकिन्छ भनेर संख्यात्मक रूपमा त्यति नै सदस्य थपिएको उनको भनाइ छ ।

तर छानबिन समिति संयोजक लेखकले भने जिल्ला सभापतिले गलत ढङ्गले पठाएका नाममात्र काटिएको बताए । उनले भने, ‘वडा अधिवेशन प्रभावित हुने गरी शतप्रतिशत भन्दा बढी हुने गरेर सदस्यता बाँड्नुभएको थियो । उहाँले ३०८ क्रियाशील सदस्यता फारम गलत ढङ्गले वितरण गर्नुभएको छ । त्यसको उजुरी परेको थियो ।’

प्रतिक्रिया