प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर : टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन् ।

बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले आफ्नो स्वार्थ र पदप्रतिष्ठाका लागि प्रचण्ड र माधवले कम्युनिस्ट पार्टी फुटाएर कांग्रेसको पुच्छर बनेको आरोप लगाएका हुन् ।

‘व्यक्ति स्वार्थमा पार्टी एकतालाई पद प्रतिष्ठाका लागि उपयोग गरे । फुटाउने कुचेष्टा गरे, ओलीको नेतृत्वमा एकता जोगाउन पहल गर्यौं, तर उहाँहरु नेकपाबाट भाग्नुभयो, आफ्नो आफ्नो कोठातिर लाग्नुभयो । नयाँ उद्देश्य राखेर गएको होइन गलत गर्नुभयो,’ उनले भने ।

पहिला ५ वर्षका लागि केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको पछि आफ्नो स्वार्थपूर्ति नहुने भएपछि पटक पटक अपदस्त गर्न खोजेको भन्दै रायमाझीले केही गर्दा पनि नसकेपछि प्रतिपक्षीको शरणमा पुगेको टिप्पणी गरे ।

‘प्रतिपक्षी नेता बोकेर पुच्छर बनेर हिँडे, काम गर्न नदिने, संसद विघटन गर्दा प्रतिगमन भन्ने ? उनले प्रश्न गरे,’ संसद पुनर्स्थापनापछि ओली नै आउँछ भनेर देशी विदेशी प्रतिक्रियावादी लागेर जनादेशको विरुद्धमा परमादेश आयो, पुरै डिजाइनमा देशपारिमात्र होइन समुद्र पार गरेर रेटेर ह्विप नलाग्ने भनियो ।’

कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेर, कांग्रेसको पुच्छर बनेर सरकार बनाए पनि अझै आफ्नै बलमा उभिन नसकेको उनको टिप्पणी थियो । ‘यति हुँदाहुँदै पनि सरकार बनाउनुभएको छ, कांग्रेसको पुच्छर बन्नुभएको छ, कम्युनिस्टहरु कांग्रेसको पुच्छर हो ? गल्ती गर्नुभयो, अहिले त गर्नुभयो भोलि पनि कांग्रेसको नेतृत्वमा चुनावमा गठबन्धन बनाउने रे, एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत छैन, अब कांग्रेसको चुनावी घोषणापत्रमा महागठबन्धन गर्नेले विकास गर्छ ?’, उनले प्रश्न गरे ।

अहिले सम्पूर्ण पार्टी एकातिर एमाले एकातिर भएको उल्लेख गर्दै रायमाझीले दुनियाँको कुनै पनि शक्तिले एमालेलाई पराजित गर्ननसक्ने दाबी गरे ।

प्रतिक्रिया