एसिया कप २०२२ छनोटको लागि उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली

काठमाडौं । एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो ।

तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने छ ।

‘खेलाडीहरुले लामो यात्रा तय गरेर आएका छन्, त्यसैले विश्राम जरुरी छ’, मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले भने । फिलिप्सले क्वारेन्टिन अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताए । समूह एफमा रहेको नेपालले २ असोजमा फिलिपिन्स तथा ५ असोजमा हङकङको सामना गर्नेछ ।

प्रतिक्रिया