त्रि–चन्द्र क्याम्पसको कन्तविजोग

रानीपोखरीको पश्चिम डिलमा १ सय ६८ वर्षको इतिहास बोकेको दरबार हाइस्कुल छ । पूर्वी डिलमा १ सय ८ वर्षको इतिहास बोकेको त्रि–चन्द्र क्याम्पस छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघ यतिबेला त्रि–चन्द्र क्याम्पस बचाउ आन्दोलनमा छ । त्रि–चन्द्र क्याम्पस भवनको पुननिर्माणको माग गर्दै नेविसंघमा आवद्ध विद्यार्थीहरूले धर्ना दिएका छन् । नेपालको उच्च शिक्षाको इतिहास त्रि–चन्द्र क्याम्पसबाटै सुरु भएको हो । यति मात्रै होइन वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रि–चन्द्र क्याम्पसमा उच्च शिक्षा हासिल गर्दै गर्दा राजनीतिमा समाहित भई अहिलेको हैसियत प्राप्त गरेका हुन् । धर्नामा बसेका विद्यार्थीहरूले धरहरा प्राथमिकतामा पर्दा शैक्षिक क्षेत्र किन प्राथमिकतामा परेन भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रश्न गरेका छन् । उनीहरूले ‘सेभ त्रि–चन्द्र’, ‘त्रि–चन्द्र्रले बनाएका नेताहरू त्रि–चन्द्र भत्किँदा कहाँ छौ ?’, ‘डियर प्रधानमन्त्री तपाईं पढेको कलेजको पुनर्निर्माण कहिले ?’ जस्ता नारा लेखेको पम्प्लेट प्रदर्शन गरेका छन् । यो प्रश्न निकै पेचिलो हो ।

०७२ साल वैशाखमा आएको विनासकारी भूकम्पले रानीपोखरीको डिलमा रहेका मुलुकका दुई वटा शैक्षिक धरोहरहरू दरबार हाइस्कुल र त्रि–चन्द्र कलेजका भवनहरू क्षतिग्रस्त भए । छिमेकी मलुक चीन सरकारको सहयोगमा दरबार हाइस्कुलको भवन पुननिर्माण सम्पन्न भइसकेको छ । पहिलोको भन्दा पनि निकै सानदारका साथ दरबार हाइस्कुलको भवन ठडिएको छ । तर, त्रि–चन्द्र कलेजका भवनहरूको हालत भने धेरै नै खराब छ । भवनहरू जिर्णोद्वार हुन नसक्दा विद्यार्थीहरू जोखिम मोलेर पढ्न बाध्य छन् । कलेजका भवनहरूमा पानी चुहिन्छ । गाह्रो भत्किएको छ । केही कक्षाकोठाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएर ढलेका छन् । कलेजका भवनहरूमा २० सेन्टिमिटरसम्मको धा“जा परेको छ । तर, विकल्प नभएकोले त्यही धरापमा पठनपाठन गरिएको छ ।

मुख्य भवनको दक्षिणपट्टी गणितको कक्षा सञ्चालन हुने ठाउँ पूर्ण रूपमा क्षतिग्रस्त भएर ढलेको छ, उत्तरपट्टिको भागमा भूगर्व शिक्षण विभागको ठूलो प्रयोगशाला थियो, कक्षा रुम, ल्याब रुम, जेनेरेटर राखेको रुम थियो, त्यो सबै क्षतिग्रस्त भएका छन् । भूकम्प पछि कोही पनि त्यहाँ छिर्न सकेको छैन । त्यो भवनमा ठूलो धाँजा फाटेको छ, त्यो नापेर हेर्दा पनि कम्तिमा १५/२० सेन्टिमिटरको छ । कतिबेला खस्ला र पुर्ला भन्ने खतरा छ । मुख्य भवनमा पनि वर्षायाममा थोत्रो छाता ओडेजस्तै घाम बाहिर पानीभित्र हुने अवस्था छ । ०७२ को भूकम्पले क्षति भएपछि यो भवनमा रातो स्टिकर टाँसिएको थियो ।

कुन मुलुकको सभ्यता कति पुरानो हो ? भन्ने कुरा प्रमाणित गर्ने भनेको ऐतिहासिक धरोहरहरूले हो । आधुनिक शिक्षाको इतिहासका हिसाबले नेपालका धरोहर भनेका दरबार हाइस्कुल र त्रि–चन्द्र क्याम्पस हुन् । दरबार हाइस्कुलले आधारभूत शिक्षाको इतिहास आरम्भ गरेको थियो भने, त्रि–चन्द्र क्याम्पसले उच्च शिक्षाको इतिहास आरम्भ गरेको थियो । यी दुवै धरोहरहरू जीवितै छन् । तर, हालत भने ज्यादै खराब छ । के कस्तो हालत छ ? हाम्रो मुलुकका शैक्षिक धरोहर दरबार हाइस्कुल र त्रि–चन्द्र क्याम्पसको छ । किन यी ऐतिहासिक धरोहर जोगाउन सरकारले बेवास्था गरिरहेको छ ? भन्ने प्रश्नले कुनै पनि नेपालीको मन खिन्न हुनु स्वभाविकै हो । राणाशासनको अन्धाकरयुगमा त्रि–चन्द्र कलेज स्थापना भएको हो । औंशीको घोर अन्धकारमा ज्वाजल्यमान मसालका रूपमा त्रि–चन्द्र कलेजको स्थापना भयो । विद्यार्थीहरूको सबैभन्दा पहिलो रोजाइमा त्रि–चन्द्र क्याम्पस पर्ने गरी यो इतिहासको धरोहरलाई संवर्धन गर्नुपर्ने थियो । नेपाल आउने विदेशी पर्यटक तथा काठमाडौं आउने आन्तरिक पर्यटकहरू एकपटक त्रि–चन्द्र क्याम्पस पुग्नै पर्ने गरी प्रवर्धन गर्नुपर्ने थियो, तर चन्द्रशमशेरले जस्तो बनाएर छाडेका थिए, त्यसलाई थप प्रवर्धन गर्न त परै जाओस् संरक्षण पनि गर्न नसक्नु भनेको वर्तमान शासकहरूको धेरै नै ठूलो नालायकी हो ।

प्रतिक्रिया