पुष्प व्यवसायको विकासमा बोलेर होइन गरेर देखाउँछु

रामजी प्रसाद तिमिल्सिना, पुष्प व्यवसायी

फ्लोरिकल्चर एसोसिएसन नेपालको २९औँ साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचन ३० भदौमा हुन लागेको छ । यो साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । जसको लागि सदस्यहरूमा निर्विरोध चयन भइसकेका छन्, भने अध्यक्ष लगायतका पदाधिकारीमा एकभन्दा बढी आकांक्षी भएपछि निर्वाचन हुन लागेको छ । विगत लामो समयदेखि पुष्प व्यवसायमा सक्रिय व्यवसायी रामजीप्रसाद तिमिल्सिना पनि अध्यक्षको प्रतिष्पर्धामा छन् । पुष्प व्यवसायीको हकहितका लागि बोलेर मात्र होइन गरेर देखाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । यसै सन्दर्भमा फ्लोरिकल्चर एसोसिएसन नेपालको निर्वाचन तथा उम्मेदवारीमा केन्द्रित रहेर व्यवसायी तथा स्वयम्भू गार्डेन एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक रामजीप्रसाद तिमिल्सिनासँग सौर्य दैनिकको लागि केशव भट्टले गरेको कुराकानीको सारसंक्षेप :

तपाईंको उम्मेदवारी किन ?
फ्लोरिकल्चर एसोसिएसन २०४९ सालमा स्थापना भए पनि संस्थाले सदस्य तथा व्यवसायीलाई घर घर खोज्न जानुपर्ने अवस्था छ । सदस्यता नवीकरण गर्नेको संख्या पनि सोचे अनुरूप हुन सकेको छैन । फ्यानमा केही कमजोरी नै भएर व्यवसायीमा उत्साह कम भएको हुन सक्छ । व्यवसायी संस्था खोज्नुपर्नेमा संस्थाले व्यक्ति खोज्दै हिँड्नुपरेको अवस्थालाई हटाउन मैले विशेष कार्यक्रम घोषणा गरेको छु । मैले उत्पादनमा आत्मनिर्भर तथा वृद्धि गर्ने योजना बनाएको छु । जसका लागि विज्ञताको आधारमा एउटा विशेष उत्पादनमा जोड दिएर उत्पादन वृद्धि गर्न पहल गरिनेछ । हरेक नर्सरीलाई एउटा विशेष उत्पादन गर्न लगाएर बजारीकरणको लागि पनि सहयोग गर्ने । यसो गर्दा विज्ञताका आधारमा काम हुने भएकोले उत्पादन बढ्छ र बाह्रै महिना उत्पादन गर्न सकिन्छ । त्यस्तै, मैले व्यवसायीलाई निःशुल्क तालिमको व्यवस्था गर्ने योजना बनाएको छु । जसमा सरकारी तथा गैरसरकारी निकायसँगको समन्वयनमा निःशुल्क तालिम गराउने र तालिम पश्चातको काम समेतलाई हेरेर थप प्रोत्साहन गर्न संस्थाको तर्फबाट पहल गर्ने योजना बनाएको छु ।

हाम्रा व्यवसायीले उत्पादनको फूल बेच्नलाई मेला नै कुर्नुपर्ने अवस्था छ । यो एउटा निकै ठूलो समस्या हो । यो समस्या समाधानको लागि बजारीकरणमा ध्यान दिनु जरुरी छ । पुष्प व्यवसायीको उत्पादनलाई बजारीकरणको लागि मैले हरेक महिना एउटा पुष्प हाटबजार सञ्चालन गर्न पहल थाल्ने योजना बनाएको छु, जसका लागि सरकारसँग वा अन्य निकायसँग सहकार्य गरेर कुनै ठाउँमा जग्गा लिएर सो हाटबजार सञ्चालन गर्न सकिन्छ । त्यस्तै, पुष्प होलसेल मार्केटको रूपमा एउटा विकृति फैलिएको छ । साना व्यवसायीलाई दुःख दिने काम भइरहेको छ । जस्तै एउटा सटर लियो होलसेल भनेर खोलेको छ । त्यस्तो तरिकाले पुष्प व्यापारमा समस्या आएको पनि छ । होलसेल भनेपछि त नाम अनुसारको काम हुनुपर्छ भन्ने मान्यता मेरो हो । जसको लागि मैले होलसेलको मापदण्डमा पनि विशेष जोड दिएको छु । निश्चित मापदण्ड तोकेर होलसेल सञ्चालन गर्न लगाउने र हरेक नेपाली कृषक (व्यवसायी) ले उत्पादन गरेका फूल विनासर्त सहजै खरिद गर्ने मापदण्ड बनाउनुपर्छ, जसको लागि मैले पहल गर्ने योजना अनुरूप अध्यक्षमा उम्मेदवारी दिएको छु । नेपालमा हुने हरेक पर्व विशेषमा मेला गर्ने कुरामा पनि मैले जोड दिएको छु ।

पुष्प व्यवसायीको क्षमता तथा व्यवसाय विकासका लागि पुष्प भ्रमण गराउनु पनि आवश्यक छ । सरकारसँगको सहकार्य गरेर स्वदेश तथा विदेश भ्रमणका लागि व्यवस्था मिलाउने योजना बनाएको छु । सरकारी अनुदान तथा सहयोगको स्पष्ट जानकारी व्यावसायी मात्रै होइन आमजनतालाई समेत जानकारी दिने मेरो प्रमुख उद्देश्य योजना रहेको छ । विगतका राम्रा योजना तथा कार्यक्रमलाई पनि सँगै लगेर यी योजना तथा उद्देश्य पूरा गर्न मैले फ्लोरिकल्चर एसोसिएसनको अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

फ्यानमा व्यवसायीको आकर्षण घटेको कुरा सरकारी अनुदान घटेको भन्ने छ नि ?
सरकारी अनुदान घटेको छैन, स्थानीयतहमार्फत झन् बढेको छ । पहिले संघीय सरकारबाट सिधै अनुदान दिइन्थ्यो अहिले स्थानीयतहमार्फत दिने गरिएको मात्रै हो । फ्यानमा सरकारी अनुदान घटेर व्यवसायी घटेको त म भन्दिनँ तर सरकारी अनुदानको रकम के कहाँ आएको हो त्यो ठाउँमा कति पुग्यो ? कति काम भयो ? के मा आएको रकम के का लागि प्रयोग भयो भन्ने कुरा मुख्य हो । यी कुराहरू हरेक व्यवसायीले एक एक गरी जान्न पाउनुपर्छ । व्यवसायीको रुचि अनुसारका कार्यक्रममा सरकारी अनुदानको रकम खर्च नभएको गुनासो आइरहन्छ ।

अर्को उम्मेदवारभन्दा तपाईं के कुरामा फरक हुनुहुन्छ ?
फरक भन्दा पनि व्यवसायीको हितका लागि काम गर्ने हो । व्यवसायीले रुचाउनुभएको छ । एकपटक मौका पाए बोलेर हेइन गरेर देखाउँछु । केन्द्रदेखि स्थानीयतहसम्म सबैलाई मेरो समान व्यवहार हुनेछ ।

पुष्प व्यवसायीका समस्या के के छन् ?
पुष्प व्यवसायको क्षेत्रमा नर्सरीको समस्या भन्ने हो भने काठमाडौंको हकमा नर्सरीको आफ्नो जग्गा छैन । जग्गा भाडामा लिँदा निकै समस्या छ । यो समस्या समाधानका लागि उत्तम विकल्प भनेकै काठमाडौं बाहिर फूल उत्पादन गरेर हाट बजारमार्फत बिक्री गर्नु नै हो । काठमाडौंमा जग्गा भाडामा लिएर नर्सरी सञ्चालन गर्यो जग्गा भाडाको सम्झौता सकिने वेलासम्म बल्ल उत्पादन दिन थालेको हुन्छ । प्रतिफल नपाउँदै नर्सरी सार्नुपर्ने समस्या छ । उपत्यकामा पानीको समस्या छ । कटफ्लावरको क्षेत्रमा व्यापार छैन । करोडौँ लगानी गरेर व्यवसाय सञ्चालन ग¥यो तर नेपाली उत्पादन कम हुँदा भारतीय फूल ल्याएर बेच्न बाध्य छन् । ल्यान्डस्केपमा पनि यस्तै समस्या छ । अब स्थानीय उत्पादनलाई विशेष जोड दिनुपर्छ ।

तपाईंको पुष्प व्यवसायिक यात्रा कसरी सुरु भयो ?
मैले ०४८ सालमा एसएलसी दिएर काठमाडौं आएँ । काठमाडौं छिरेपछि नर्सरीमा काम गर्न थालें, तीन वर्ष काम गरेपछि एउटा स्विट्जरल्यान्डको नागरिकसँग गार्डेन हेर्ने काम पाएँ । त्यो वेला राम्रै पारिश्रमिकमा काम गरेँ । त्यहाँबाट कमाएको पैसाबाट ०५१ सालमा आफ्नै नर्सरी सुरु गरँे । ०५१ सालदेखि म नियमित यसै क्षेत्रमा छु । हाल मैले ल्यान्डस्केपको काम गर्छु । सबै मलाई स्वयम्भू गार्डेनको सञ्चालक भनेर चिन्छन् । मैले हाल बगैँचा बनाउने काम गर्छु । नर्सरी पनि छ । तालिम दिने काम पनि गर्थें हाल छोडेँ पनि समूहमा आउनेलाई तालिम दिने गरेको छु ।

यस क्षेत्रमा नयाँ व्यवसायीको आकर्षण कस्तो छ ?
यसक्षेत्रमा आउनलाई आफूले के गर्ने हो ? स्पष्ट हुनु जरुरी छ । नयाँ व्यवसाय गर्नलाई युवाहरूको आकर्षण बढ्दो छ । यो आकर्षण काठमाडौं बाहिर बढी छ । हरेक वर्ष व्यवसायी थपिँदै छन् । यो क्षेत्रमा बुझेर लगानी गरे डुब्ने सम्भावना कम हुन्छ । एक वर्ष आम्दानी कम भयो भनेर आत्तिनु पर्दैन अर्को वर्ष अवश्य आम्दानी हुन्छ । त्यस्तो घाटा नै त हुँदैन । युवालाई निःशुल्क तालिम हुनुपर्छ भन्ने मेरो धारण हो जसको लागि मैले उम्मेदवारी दिएको छु ।

अन्त्यमा
म यसपालि पनि अध्यक्षको प्रतिष्पर्धी छु । यहाँहरूले मत दिएर सहयोग गरिदिनुस् । म बोलेर होइन गरेर देखाउने प्रयास गर्नेछु । यहाँहरूको साथ सहयोगले पुष्प व्यवसायको लागि केही गर्ने अवसर प्राप्त होस् र जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया