प्रसंग मार्क्सवादको : इच्छा र आवश्यकतामा भेद

कृष्ण बोहरा

खानाका लागि भोक जति आवश्यकता छ । समाज बन्नका लागि यौन त्यतिकै आवश्यकताको कुरा हो । हुन त छोपेर राखेको यौनको भोकले भित्रभित्रै मानिसलाई अपराध कर्मतिर धकेल्छ भन्ने मत पनि छ । यस भनाइमा आफैंमा सत्यता त होला नै । यसलाई पनि व्यवस्थापन गर्नु मानिसको कर्तव्य भित्रै पर्दछ । पुर्खाले बनाएको अनेकौँ नीति नियम, संस्कार र संस्कृति यसैको व्यवस्थापनको एउटा जमर्काे हो ।

सामान्य रूपमा हेर्दा इच्छा र आवश्यकता उस्तै जस्तो देखिएता पनि विशिष्ट रूपमा यी दुबै फरक कुरा हुन् । आवश्यकताको कारणले मानिसमा इच्छा पैदा हुन्छ र यो विश्व ब्रम्हाण्ड चाहर्दछ भन्न पनि सकिन्छ । जस्तो भोक लागेपछि खाने इच्छा जागृत हुन्छ । घामपानी जाडो आदिको कारणले नाना र छानाको आवश्यकता महसुस गराउँछ । जसको कारणले एउटा सुरक्षित घर बनाउने इच्छा मानिसमा जागृत हुन्छ । मानिसलाई बास्तवमा चाहिएको खाना नाना र छाना हो । यो मानिसको नैसर्गिक आवश्यकता भित्रै पर्दछ ।

भोक लाग्दा खाना, घाम पानीबाट बच्न एउटा सुरक्षित घरको न्यूनतम आवश्यकता हो । यस्तै पारिवारिक माया र सुुख भोकका लागि सानु एउटा परिवार पनि आवश्यकताको कुरानै हो । किनकी प्रेम र मायाविना पनि मानिस सामान्य त टाढिएर बस्न सक्तैन । यसैले ऊ समाजमा बस्दछ । यसबाट मानिस एउटा सामाजिक प्राणीको रूपमा चिनिन्छ । परिवार परिवार मिलेर नै समाजको उत्पत्ती हुने हो । यौन जीवनविना परिवारको कल्पना पनि गर्न सकिँदैन । यसैले मानिसमा प्रकृतिले यौनको भोक जगाइदिएको छ । यसैले भन्न सकिन्छ कि यौन जीवन पनि मानिसको नैसर्गिक आवश्यकताभित्र पर्दछ । यसले सृष्टी धान्न र सामाजको निर्माण गर्न अहं भूमिका खेल्छ ।

खानाको लागि भोक जति आवश्यकता छ । समाज बन्नका लागि यौन त्यतिकै आवश्यकताको कुरा हो । यसो भएता पनि असीमित भोकको इच्छाले मानिसमा विकृति पैदा गर्दछ । यसले विकृत भाव जन्माउँछ । मानिसबाट सरेर समाजमा यो सामाजिक विकृतिको रूपमा देखा पर्दछ । हुन त छोपेर राखेको यौनको भोकले भित्रभित्रै मानिसलाई अपराध कर्मतिर धकेल्छ भन्ने मत पनि छ । यस भनाइमा आफैँमा सत्यता त होला नै । यसलाई पनि व्यवस्थापन गर्नु मानिसको कर्तव्य भित्रै पर्दछ । पुुुुर्खाले बनाएको अनेकौँ नीति नियम, संस्कार र संस्कृति यसैको व्यवस्थापनको एउटा जमर्काे हो । भलै यस्ता नीतिनियमले समाजको वास्तविक समस्या सामाधान गर्न नसकेको होस् ।

यस मामलामा सिगमण्ड फ्रायड यस युगको महान क्रान्तिकारी चिन्तक भित्रै पर्दछन् । उनले मानिसको नैसर्गिक आवश्यकतालाई दमन गर्नु नहुने विचार व्यक्त गरे । यसैले यौन तृष्णालाई दमन गर्नु मानिसको विक्षिप्तता र दुःखको एउटा कारण हो भने । तर फ्रायडको सिद्धान्तले पश्चिमा समाजमा खुल्ला यौन उच्छृंखलता र विकृति पैदा गरेकै छ । यसको अर्थ यो होइन कि फ्रायडले नराम्रो गरे । कुरा यो हो कि उनले समाजको समस्या सामाधानका लागि शुभचिन्ता नै प्रकट गरेका हुन । मैले यहाँ भन्न खोजेको कुरा यो हो कि मानिसका भोक, तिर्खा र छाना नाना मानिसका नैसर्गिक आवश्यकता हुन् । मानिसलाई सामान्यतया यो पूरा गर्न त्यति धेरै समस्या छैन । तर, मानिसका इच्छा पूरा गर्न जटिल र गा¥हो विषय हो । संसारमा सबैभन्दा छिटो गतिको भौतिक बस्नु अन्तरिक्ष यान, त्यो भन्दा पनि छिटो प्रकाशको गति, प्रकाशको गति भन्दा पनि छिटो मनको गति हुन्छ । मनले चाहे जति ईच्छा पूरा गर्न मानिस असमर्थ छ । मानिसले राम्रो खाना चाह्यो भने तत्काल पूरा हुन सक्छ । प्रधानमन्त्री हुन चाह्यो भने जटिल र गा¥हो छ । एक लाख कमाउने इच्छा हुँदा ठिकै थियो एक लाख भएपछि अर्काे पनि एक लाख थप्न मन हुन्छ । बिस्तारै करोड र अर्बमा पुग्छ मान्छेको इच्छा । यस्तो अनन्त इच्छाले मानिस द्रब्यपिसाच बन्दछ । एकातिर सुखसयल मोज मज्जा र आरामको जिन्दगीको इच्छा र अर्कातिर दीनहीन अवस्थाको सिर्जना यहि अथाह धन थुपार्ने चाहानाले उत्पन्न हुन्छ । राम्रो र सही परिश्रम (बौद्धिक श्रम समेत) ले कमाउँदासम्म ठिकै थियो । असीमित इच्छाले अरूको शोषण गर्नुपर्ने स्थितिमा मानिसलाई पु¥याउँछ । नेपालमा आजका शासकहरूको दिनचर्या यसैगरी नै बितेको छ ।

इच्छाहरू अनन्त छन् । यो भविष्यको सुनिश्चितताका लागि हो । जस्तै स्वर्ग जाने कल्पना । अथाह पैसाको जगेर्ना पनि भविष्य सुनिश्चितताकै लागि हो । मर्ने कहिले हो ठेगान छैन । मरेपछि जम्मा गरेको त्यो धन छोरानातीले कसरी उडाउँछन् थाहा छैन । विना परिश्रम कमाएको धनको कसैलाई पनि माया हुँदैन । यस्ता अनन्त इच्छा भविष्यसँग सम्बन्धित छन् भने आवश्यकता तत्काल नभए जिउन गा¥हो हुुने अवस्थाको कुरा हो । यसैले आवश्यकता सीमित हुन्छ । इच्छाहरू असीमित । आवश्यकता संवेदनशील र गम्भीर प्रकृतिको हुन्छ । इच्छाहरूमा संवेदनशीलता हुँदैन । आवश्यकता मानिसको नैसर्गिक र नभइनहुुने कुरामा सीमित हुन्छ । इच्छाहरूले यसको सीमाभित्र बस्न कहिल्यै पनि रुचाउँदैनन् । अथाह धन थुपार्ने इच्छा । फेसनको इच्छा । असीमित सुखभोगको इच्छा । आदि विभिन्न रूपमा इच्छाहरू मुखतिरित हुन्छन् । इच्छाहरू लोभमा आधारित हुन्छ । आवश्यकता बाँच्ने आधार हो । आवश्यकता मानवीय हुन्छ । इच्छाहरूले मानवीयताको सीमा नाघ्न पनि सक्छन् । यसो भएता पनि ज्ञानको भोक लाग्नु र ज्ञान प्राप्तीको इच्छाले भने मानिसमा सकारात्मक भूमिका खेल्दछ । असीमित ज्ञानको भोकले पनि मानिसमा कुुनै फरक पार्दैन । लोभ, तृष्ण, माया, मोह जस्ता कारणले उत्पन्न गरेका अनेकाैं दुःख देखेर संसारमा महामानवहरूको जन्म भएको पनि छ । त्यस्ता महान् व्यक्तित्वहरूले घर सुखसयल सब त्याग गरेका उदाहरणहरू छन् । जस्तै बुद्ध, माक्र्स आदि । मैले भन्न खोजेको कुरा इच्छाहरू केही पनि नराख्नु भन्ने होइन । मानवीय इच्छाविना संसारको विकास र आविष्कारको ढोका पनि बन्द हुन्छ । इच्छाहरूको कारणले विकृती पैदा नहोस् । कसैका पनि इच्छा सामाजिक समस्याको रूपमा नदेखियोस् भन्ने मात्र हो ।

स्वामी आनन्द अरुणको सन् १९९८ को यो तथ्यांकले आवश्यकता र इच्छाको बीचमा भइरहेको असमानुपातिक खर्चको तथ्य देखाउँछ । ‘संसारभर बाल शिक्षामा खर्च ६ अर्ब डलर, अमेरिकामा मात्र सौन्दर्य प्रशादनमा खर्च ८ अर्ब डलर । आधारभूत स्वास्थ्य र पोषणका लागि विश्वभरीको खर्च १३ अर्ब डलर, युरोपमा आइसक्रिम र अत्तरमा खर्च २३ अर्ब डलर । युरोपमा चुरोटमा खर्च ५० अर्ब डलर, अल्कोहलमा खर्च १ सय ५ अर्ब डलर ।’ विश्वव्यापी रूपमा प्रत्येक वर्ष हातहतियारमा लगभग नौ सय अर्ब डलर खर्च हुन्छ । त्यसको एक प्रतिशत मात्र शिक्षा वा खानेपानीको व्यवस्थामा थपेको भए विश्वका बालबालिका निःशुल्क स्कुल जान पाउँथे, वा प्रर्याप्त खानेपानी नपाउने आधा जनसंख्याले शुद्धपानी पिउन पाउँथ्यो । समाजको समस्या सामाधानार्थ बुद्ध र मार्क्सले आ–आफ्नो चिन्ता र चिन्तन अभिव्यक्त गरेका छन् । तैपनि बुद्ध धर्म अपनाएको तिब्बतमा शान्ति आउन सकेन । धर्मको नाउँमा बौद्ध धर्मका लामा गुरुहरूले ऐसआरामको जिन्दगी बिताए । बहुसंख्यक किसानहरू दीनहीन जीवन बिताउन बाध्य भए । धर्मको नाममा शोषण राज्यको पहिचान भयो । तथापि आजभोलि त तिब्बती धर्म गुरुहरू पनि निर्वासित जीवन बिताइरहेका छन् । माक्र्सले परिकल्पना गरेको समाजमा शोषणको कुनै गुन्जायस देखिँदैन । शासक र शासितको मानसिकता पनि त्यहाँ छैन । राज्यको सीमा र राज्यसमेत अस्थायी हुन् भनेका छन् ।

तर आजका कम्युनिस्ट शासकहरूको ठाँटबाठ फरक रहेका छन् । सबै सम्पत्ती समाज केन्द्रित नभएर राज्य केन्द्रित गरिएको छ । माक्र्सको परिकल्पना विपरीत समाजवाद स्थापना भएको देशमा बहुसंख्यक जनता शासित र राज्य सञ्चालकहरू शासकको स्थितिमा उत्पती भए । यस परिस्थितिमा जनतामा अन्तरविरोधहरूको मात्रा झन् पछि झन बढ्दै गयो । यसैले नोभेम्बर ९, १९८९ मा बर्लिनको पर्खाल ढल्यो । १९८९ मै पूर्वी युरोपका कम्युनिस्ट शासन सत्ता एकपछि अर्को ढल्दै गए । यसको एक मात्र कारण समाजमा शासक र शासितको मानसिकताको द्वन्द्व जन्म भएर हो । यसरी कम्युनिस्ट नाम गरेको सत्ता ढल्दै जानु लोकप्रिय शासन प्रणालीको अभाव नै हो भनी किटेर भन्न सकिन्छ । नाममा माक्र्सवादी काममा पुँजीवादी । नाममा माओवादी काममा दलाल पुँजिवादी हुनु नै आजको कम्युनिस्ट आन्दोलन र कम्युनिष्ट सत्ताको मूल समस्या हो ।

प्रतिक्रिया