खोजखबर

बेरोजगारलाई गाउँघरमै रोजगारी

कृष्ण न्यौपाने २०७८ भदौ २७ गते ७:१७ मा प्रकाशित

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचीकृत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाउन थालेका छन् । न्यूनतम सय दिनको रोजगारी पाइने यस कार्यक्रममार्फत् सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका हुन् । तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय ६५ बेरोजगारले रोजगारी पाएका छन् । गाउँपालिकामा ४ सय ४८ बेरोजगार सूचीकृत भएकामा प्राथमिकताका आधारमा १ सय ६५ बेरोजगारले रोजगारी पाएका हुन् । रोजगारी पाउनेमा म्याग्दे गाउँपालिका–३, ४, ६ र ७ का बेरोजगार सूचीमा सूचीकृत भएकाहरू रहेको रोजगार संयोजक पविन्द्र शाहीले जानकारी दिए । उनका अनुसार म्याग्दे–३ का १३, म्याग्दे–४ का ३७, म्याग्दे–६ का ९ र म्याग्दे–७ का १ सय ६ जनाले रोजगारी पाएका छन् । उनीहरूले प्रतिदिन ५ सय १७ का दरले न्यूनतम सय दिनको काम पाएका छन् । ‘युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाअन्तर्गत एक सय र कामका लागि समुदायमा आधारित पारिश्रमिक आयोजनाअन्तर्गत ६५ जनाले रोजगारी पाएका छन्,’ उनले भने, ‘सात वडामध्ये चार वडामा आयोजनामार्फत् काम गरिएको छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् गारेटो बाटो निर्माण, चौतारा निर्माण, पैदलमार्ग, पोखरी मर्मत, खानेपानी आयोजना मर्मतलगायत काम सम्पन्न भएको छ । ‘सबै कामको प्रगति सन्तोषजनक छ,’ उनले भने, ‘स्थानीय स्तरमै रोजगारी पाउँदा बेरोजगारलाई गुजारा चलाउन सहज भएको छ ।’ चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि २ सय ५८ सूचीकृत भएका छन् । तीमध्ये १ सय १ जनाले रोजगारी पाउनेछन् । म्याग्दे–३ मा २२, म्याग्दे–४ मा ३६, म्याग्दे–६ मा ११ र म्याग्दे–६ मा १ सय ८९ जना सूचीकृत भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि म्याग्दे–१ र २ मा कोही पनि सूचीकृत भएका छैनन् । प्रत्येक वडा कार्यालयमा सूचना पु¥याए पनि वडाको तर्फबाट राम्रो समन्वय हुन नसकेको संयोजक शाहीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा ८५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

व्यास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ सय ८३ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रमअन्र्तगत १२ वटा योजनाको काम गरिएको छ । कार्यक्रमका लागि ८८ लाख बजेट विनियोजन भएकामा ४७ लाख ५४ हजार ९ सय १ बजेट खर्च भएको रोजगार संयोजक सुजिता थापाले जानकारी दिइन् ।

नगरपालिकाका १४ वडामध्ये सात वडामा मात्रै रोजगार कार्यक्रम सञ्चालन भएको छ । व्यास–६ मा कुुलो मर्मत, व्यास–९ मा चिसापानी मोटरमार्ग कच्ची नाला निर्माण, व्यास–१० देवीडाँडामा सिढी निर्माण, व्यास–११ चमेरेगुफा भतेरी मार्गमा सिढी निर्माण र चौतारी निर्माणको काम गरिएको छ भने व्यास–१३ मा सुढे पदमार्ग र व्यास–१४ मा रुम्सी बेलडाँडामा कच्ची नाला निर्माण गरिएको छ । यस्तै आँबुखैरेनी गाउँपालिकामा ३ सय ९६ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रममार्फत् ३५ योजना सम्पन्न गरिएको रोजगार संयोजक कमला गैह्रेले जानकारी दिए । यसअन्तर्गत प्रत्येक वडामा चौतारा र पोखरी निर्माण गरिएको छ । यसैगरी गोरेटो बाटो, नाला निर्माणलगायत काम सम्पन्न भएको छ । कार्यक्रमका लागि ९६ लाख बजेट प्राप्त भएकामा ८६ लाख ९५ हजार खर्च भएको थियो ।

कार्यक्रमअन्तर्गत वडा–४ मा कोटगाउँ गोरेटो बाटो निर्माण गरिएको छ । वडा–५ मा ताराखसे आहालमा पोखरी तथा चौतारो निर्माण गरिएको छ । वडा–६ मा हिलेखर्क छिम्केश्वरी गोरेटो मार्ग निर्माण, वडा–५ बरालुङ गाउँबाट सानोभञ्ज्याङ जानको लागि गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाका ६ वटा वडामध्ये वडा–२ मा पोखरी र वडा–३ मा चौतारो निर्माण नभएको तर अन्य सबै वडामा पोखरी र चौतारो दुवै निर्माण गरिएको संयोजक गैह्रेले बताए । यस्ता कार्यक्रमले युवारोजगारी भएकाले समाजमा सकारात्मक प्रभाव परेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय