औपनिवेशिक सोचका विविध पक्ष

प्रदीप उप्रेती

नकारात्मक असरलाई चिर्दै अर्थपूर्ण सकारात्मक लाभ कसरी हासिल गर्ने भन्ने विषयलाई मनन गर्दै अग्रगामी आर्थिक समृद्धिको खाका सहितको सम्भावना बोकेको क्षेत्रहरूको पहिचान गर्नुपर्ने हुन्छ ।

औपनिवेशिक सोचका विविध पक्ष छन् । यी पक्षअन्तर्गत साना मुलुकको सार्वभौमिकता एवं भौगोलिक अखण्डतामा आँच आउने कुनै पनि कार्य सम्बद्ध मुलुकका सम्प्रभू नागरिक समाजले आत्मसाथ गर्न सक्दैनन् । यस्ता गलत सोचको प्रभावबाट केहीहदसम्म नेपाल राष्ट्र पनि अछुतो रहन गएको पाइँदैन । कायम राख्ने चाहना सहितको उपनिवेशवादी सोचलाई सम्प्रभू नेपाली जनमत एवं नेपालराज्यले स्वीकार गर्ने भन्ने प्रश्न नै उठ्दैन । स्वाभिमानीपूर्वक आत्मसम्मानका साथ आत्मनिर्भरताको बाटोमा अगाडि बढ्ने क्रममा यस प्रकारको भयबाट सकुशल पृथक रहँदै आर्थिक समृद्धिको मार्गचित्र तय गर्नु आर्थिक विकासवादी सिद्धान्तको मूलमन्त्रसमेत हो भन्दा फरक नपर्ला ।

आन्तरिक एवं वाह््य द्वन्द्वको नकारात्मक प्रभावको अनधिकृत लाभ उठाउँदै शक्तिशाली वाह्य साम्राज्यबाट मुलुकको स्वाधिनता, सार्वभौमसत्ता वा भौगोलिक अखण्डतामाथि अनधिकृत रूपमा प्रभाव पार्न खोज्ने नियती नै यथार्थ रूपमा उपनिवेशवादी सोचको अनेकन रूप मध्येको एक रूप मान्न सकिन्छ । अघोषित रूपमै भए पनि केहीहदसम्म प्रस्तुत प्रवृत्तिको सामना गर्न मुलुक बाध्य रहेको तथ्यलाई इन्कार गर्न मिल्दैन । तथापि सार्वभौमिकता एवं भौगोलिक अखण्डताको सन्दर्भमा अपवाद वाहेक धेरै हदसम्म राज्यलाई सफलता प्राप्त भएकै छ । राष्ट्रिय स्वाधिनताको विषयमा अनधिकृत सन्धी सम्झौताहरू गर्दै औपनिवेशिक मार्गमा हिँड्न नचाहने नेपालीपनको विशेषताकै कारण दुई विशाल गणराज्यको बीचमा अवस्थित स्वतन्त्र गणतान्त्रिक राज्य नेपालले आफ्नो स्वाधिनता एवं सार्वभौमसत्ताको रक्षा गर्न हरतरहले सम्भव रहेको हो भन्दा फरक नपर्र्ला । यद्यपि उपनिवेशवादी सोचबाट अभिप्रेरित रहेका राष्ट्रहरूले बेलाबखत अनेकन वितण्डाहरू मच्याउँदै हाम्रा राजनीतिक शक्तिहरूलाई विभिन्न प्रकारका प्रलोभनमा पारी उपनिवेशवादी धारणा अघोषित रूपमै भए पनि लाध्न खोज्ने चाहनाको विकृत रूप स्वरूप नेपालले नचाहँदा नचाहँदै पनि विभिन्न प्रकारका राजनीतिक–आर्थिक उथलपुथलको सामना गर्दै असजिलो परिस्थितिबाट गुज्रिनु परेको तीतो तर यथार्थपरक वास्तविकताको बोध प्रत्येक स्वाभीमानी देशभक्त नेपाली जनमतलाई पक्कै पनि भएकै छ ।

सामान्यतया औपनिवेशिक प्रभाव सम्बद्ध मुलुकको नागरिक पहिचानसँग सम्बन्धित रहने गर्दछ । यस प्रकारको पीडाजन्य असरबाट नेपाल तथा नेपाली–जनमानसले कुनै पनि प्रकारको ऋणात्मक असर वर्तमान अवस्थासम्म सहन गर्नुपरेको छैन । जसलाई राष्ट्रियताको सन्र्दभमा सकारात्मक कदमको रूपमा लिँदा फरक नपर्ला । प्रस्तुत राजनीतिक व्यवहारबाट आफ्नो नीतिगत निहित स्वार्थपूर्ति नबन्ने अवस्था तयार भए अर्को औपनिवेशिक प्रभावबाट ग्रसित तुल्याउने प्रयत्नहरू जारी रहनेछन् । जसमा राजनीतिक पक्षको भूमिका गौण रहने हुँदा मुलुकको स्वाधिनता एवं सार्वभौमिकतामा कुनै प्रकारको तात्विक भिन्नता सहितको नकारात्मक प्रभाव भने पर्न सक्ने अवस्था रहँदैन ।

स्वतन्त्र मुलुकका नागरिक समुदायको सामाजिक पक्ष अन्तर्गतको महत्वपूर्ण पक्षको रूपमा रहेको अर्थसरोकारसँग प्रत्यक्ष सरोकार रहने पक्षलाई आक्रामक प्रभाव पार्न सकिए त्यसको असर राजनीतिक असर भन्दा कैयौँगुणा असरदार रहने तथ्यलाई मनन गर्दै लागू गर्ने प्रयास गरिन्छ । जसलाई आर्थिक उपनिवेशवादको चर्मोत्कर्षको रूपमा परिभाषित गर्न सकिनेछ । जसको असर हरेक समुदाय विशेषमा रहने हुँदा नतिजा पनि तुरुन्तै मुखरित हुने अवस्था पैदा हुने देखिन्छ । जुन निश्चित रूपमा नागरिकको दैनिकीलगायत गाँस, वास एवं कपाससँग प्रत्यक्ष सरोकार रहने हुँदा समस्या समाधानका लागि राज्यलाई तत्कालै चौतर्फी दबाब पर्ने भएको बढी असरदार देखिन आएको मात्र हो ।

राजनीतिको क्षेत्रमा आवद्ध रहने समूहलाई क्षणिक रूपमा प्राप्त हुने लाभहानीको आडमा मुलुक तथा नागरिक समाजलाई असहजताको भूमरीमा पार्ने कार्यले अन्ततः आर्थिक मनोविकृतियुक्त कार्यलाई मात्र प्रोत्साहन दिनेछ । जसले मुलुकलाई अन्त्यहीन आर्थिक औपनिवेशिताको मार्गमा हिँडाउनेवाहेक अन्य कुनै आर्थिक लाभ हासिल हुन सक्दैन । परिणामतः कालान्तरमा सामाजिक, आर्थिक–राजनीतिक उपनिवेशको चक्रब्यूहमा मुलुक फस्न सक्ने तथ्यलाई समय छँदै विचार पु¥याउनुपर्ने हुन्छ । अन्यथा अराजकताको सामना गर्नुबाहेक अर्को कुनै उत्तम विकल्प मुलुकसामू रहने छैन भन्दा फरक नपर्ला ।

सुरुआती अवस्थामा आर्थिक उपनिवेशको नकारात्मक प्रभाव नागरिक समाजमा नदेखिएता पनि आर्थिक असमानताले भरिपूर्ण गराउने प्रयास स्वरूप यसप्रकारका नीतिलाई अख्तियार गर्ने चाहना निश्चित रूपमा लागू गरिएकै हुन्छ । जसका लागि वस्तु तथा सेवा खरिदको क्षेत्रमा सामान्यभन्दा सामान्य नागरिक समूहको पहँुचको अभिवृद्धि गर्दै उक्त सेवा सुविधाको प्रतिको लगाव अत्यधिक गराइन्छ ।

तदुपरान्त लगाव रहेकै कारण उक्त वस्तु तथा सेवा प्रतिको झुकावसमेत अत्यधिक रहन जानेछ । परिणामतः आर्थिक उपनिवेशवादी सिद्धान्तले अभिप्रेरित रहेका राष्ट्रले आमजनसमुदायको पहुँचभन्दा निक्कै माथि रहने गरी सम्बद्ध मुलुकको चलनचल्तीको मुद्रालाई महँगो पार्ने रणनीतिलाई अख्तियार गर्दै व्यवहारतः लागू गर्ने प्रयास गरिनेछ । जसबाट आर्थिक उपनिवेशले ग्रसित मुलुकका नागरिक समाजलाई सहज रूपमा वस्तु तथा सेवा खरिदको सन्दर्भमा असजिलो वातावरण उत्पन्न हुने देखिन्छ । आर्थिक, राजनीतिक एवं सामाजिक रूपले सुविधासम्पन्न मुलुकको प्रभावजन्य षड्यन्त्रमूलक रणनीतिक योजनाभित्र विशेषगरी नेपालजस्ता आर्थिक विकासको मार्गमा निरन्तर अगाडि बढ्ने क्रममा रहेका मुलुकहरू अझ बढी मात्रामा प्रभावित रहने गरेको पाइयो ।

नकारात्मक असरलाई चिर्दै अर्थपूर्ण सकारात्मक लाभ कसरी हासिल गर्ने भन्ने विषयलाई मनन गर्दै अग्रगामी आर्थिक समृद्धिको खाका सहितको सम्भावना बोकेको क्षेत्रहरूको पहिचान गर्नुपर्ने हुन्छ । तर यसका लागि स्वदेशी श्रमलाई स्वीकार गर्दै व्यवस्थित गर्नुपर्ने हुन्छ । जसले आर्थिक रूपमा सम्पन्नता हासिल गर्दै बाह्य परिनिर्भतालाई सदाको लागि अन्त्य गर्ने प्रयास गर्नेछ । प्रस्तुत अवस्था कायम रहनु भनेको आर्थिक रूपले वैभवशाली रहने वातावरण तयार हुनु हो । सम्पन्नता प्राप्ति पश्चातः नेपाल र नेपालीलाई हेर्ने उपनिवेशवादी सोचाइ भएका समूहमा समेत उपरोक्त सोचाइमा परिवर्तनका लक्षणहरू स्वतः देखापर्ने हुँदा प्रस्तुत पीडादायी अवस्थाबाट पक्कै पनि पार लाग्नेछ भन्दा फरक नपर्ला ।

प्रतिक्रिया