तालिवान सरकारलाई चीनको समर्थन, तीन करोड दश लाख अमेरिकी डलर सहयोग दिने

वेइजिङ । चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन गरेको छ । विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो ।

चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिवानलाई प्रारम्भीक सहयोग स्वरुप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।

अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेको झण्डै तीन सातापछि केही दिन अगाडि अन्तरिम सरकार गठन भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुय चुनीनले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताए ।

उनले यस सहयोगलाई अफगानिस्तानी जनतालाई दिइएको आपतकालिन सहयोगको रुपमा समेत व्याख्या गरे । सहयोग अन्तर्गत चीनले खाद्य पदार्थ, पानीजन्य पदार्थ, खोप, औषधीजन्य पदार्थलगायत पनि रहने प्रवक्ता चुनीनले जानकारी दिए ।

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि तत्कालिन राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेका थिए भने उनको सरकारले हात उठाएको थियो ।

घानी सरकारले हात उठाएपछि नयाँ सरकार गठन हुन नसकेको र नयाँ सरकार काम गर्न अन्यौलमा परेकोले दैनिक उपभोग्य वस्तुको व्यवस्थापनदेखि प्रशासनिक कामसमेतमा ठूलो समस्या देखिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई पहिलो चरणमा ३० लाख खोप दिने घोषणा यसअघि नै गरिसकेका छन् । तर, खोप कहिले उपलब्ध हुन्छ भन्ने यकिन हुन भने बाँकी नै रहेको बताइएको छ ।

प्रतिक्रिया