दैलेख । जिल्लामा १९ वर्षीया किशोरीलाई सत्तारूढ नेपाली कांग्रेसले वडा समिति सभापतिमा निर्वाचित गरेको छ । दैलेख स्थित कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका–३ मा सभापति निर्वाचित भएकी हुन् । शुक्रबार भएको वडाअधिवेशनका क्रममा कांग्रेसले उनलाई सर्वसम्मत रूपमा वडा सभापति बनाएको हो । उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए । सानै उमेरमा कांग्रेसको स्थानीय नेतृत्व सम्हालेपछि उनलाई आफन्त, इष्टमित्र र कांग्रेसजनले बधाई दिइरहेका छन् ।
कांग्रेसले पछिल्लो समय युवाहरूलाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेको छ । नेतृत्वमा पाका नेताहरू भए पनि तल्लो तहमा बिस्तारै युवाहरूको जमात बढिरहेको छ । दुल्लु नगरपालिका प्रमुख एवं कांग्रेस नेता भूपेन्द्र भण्डारीले युवाहरूलाई नेतृत्वमा ल्याउने पार्टीको नीतिअनुसार नै स्वस्तिकालाई वडा सभापति बनाइएको बताएका छन् । स्वस्तिकाका पिता एवं कांग्रेस दैलेखका तत्कालीन उपसभापति भूपेन्द्रजंग महतको ०७६ कात्तिकमा डेंगु संक्रमणका कारण उपचारको क्रममा दिल्लीमा निधन भएको थियो ।
११ वटा स्थानीयतह रहेको जिल्लामा ९० वटा वडा छन् । ९० वडाबाट महत एक्ली कान्छी सभापति हुन् । महतले भनिन्, ‘स्वास्थ्यकर्मी बनेर जनताको सेवा गर्ने सोच थियो । त्यहीअनुसार नेपालगञ्जको टेक्निकल एचए पढेँ । गाउँमा आएको बेला सोच बदलियो । राजनीतितिर लागेँ ।’ उनले थपिन्, ‘बुबालाई जनताले दिएको कामको जिम्मा अधुरै रह्यो त्यही काम पूरा गर्न स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतितिर आएँ ।’
राजनीतिमार्फत समाज रूपान्तरण गर्नका लागि समाज र देशको सेवा गर्ने निर्णयमा उभिएको उनले बताइन् । अब यही कर्मबाट विपन्न महिला, दलित, बालबालिका र दीनदुःखीहरूका घाउमा मलम लगाउने उनको योजना छ ।
स्वस्तिका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यति नै जिम्मेवारी थपिएको महसुस गरेकी छिन् । उनले भनिन, ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरूले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनुभएको छ । यो विश्वास र भरोषालाई ढल्न दिने छैन । दिन–रात वडावासीकै काममा खटिनेछु ।’
दैलेख
प्रतिक्रिया