बेनी–जोमसोम सडक मुआब्जा वितरण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति वितरण सुरु गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दुरीको सडकको क्षेत्राधिकारमा पर्ने १ सय ७८ घर/गोठ र टहराको करिब आठ करोड क्षतिपूर्ति वितरण गर्न थालेको हो । आयोजनाको कार्यालयका प्रशासन प्रमुख नारायण पौडेलले ११ मिटर फराकिलो हुने स्तरोन्नतिका क्रममा रहेको सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्यांकन सकेर क्षतिपूर्ति वितरण सुरु गरेको बताए ।

‘मुस्ताङको जोमसोमस्थित कार्यालय र म्याग्दीको गलेश्वरममा रहेको सम्पर्क कार्यालयमा संरचनाका धनीबाट निवेदन संकलन गर्ने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘सबै संरचनाको क्षतिपूर्ति दिन आठ करोड बजेट माग गरिएकोमा पहिलो चरणमा तीन करोड आइसकेको छ ।’
म्याग्दी र मुस्ताङका लागि १ करोड ५० लाखका दरले प्राप्त भएको बजेट वितरण गरेपछि दोस्रो चरणमा थप बजेट मागिने पौडेलले बताए । म्याग्दीमा ८० र मुस्ताङका ९८ घर, टहरा तथा गोठ हटाउन सम्बन्धित धनीलाई क्षतिपूर्ति उपलब्ध गराउन लागिएको आयोजनाका इञ्जिनियर आशिष मानन्धरले बताए ।

बेनी—जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इञ्जिनियरको नेतृत्वमा प्राविधिक टोलीले नापजाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो । नापजाँच गरेको २ वर्ष ६ महिनापछि क्षतिपूर्ति उपलब्ध गराउन थालिएको हो । संरचनाको क्षतिपूर्ति उपलब्ध गराउन ०७५ सालमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आयोजना, मालपोत र नापी कार्यालयका प्रतिनिधि रहेका दुई जिल्लाका फरक–फरक क्षतिपूर्ति निर्धारण समिति गठन गरिएको थियो । पछिल्लो व्यवस्थाअनुसार सम्बन्धित आयोजना कार्यालयमार्फत सम्बन्धित संरचनाका धनीको बैंक खातामा रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

चीनको सिमाना कोरलानाका जोड्ने सडकलाई दुई लेनको बनाउन ०७४ सालमा सुरु भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । बेनी–जोमसोमको ६५ प्रतिशत र १ सय १० किलोमिटर दुरीको जोमसोम–कोरला सडकको ९० प्रतिशत प्रगति भएको आयोजनाका इञ्जिनियर आश्विनीकुमार यादवले बताए । जोमसोम–कोरला सातमध्ये चार प्याकेज निर्माण सकिएको छ ।

प्रतिक्रिया