कांग्रेसमा समावेशी प्रतिनिधित्व सुनिश्चित : महामन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको वडादेखि केन्द्रीय कार्यसमिति तहसम्म लोकतान्त्रिक प्रक्रिया मार्फत सबै तहका संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने बताएका छन् ।

पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबै तहका संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेस पहिलो पार्टी बन्न लागेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्दै आएको छ, पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको छ, पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन पार्टीको वडाका अधिवेशनले सहयोग पुर्याउँनेछ ।’

क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका विभिन्न वडामा अधिवेशन आरम्भ भएको कांग्रेसले जनाएको छ ।

क्रियाशील सदस्यता नामावली प्रकाशित हुन बाँकी २१ जिल्लाको सूची पनि क्रमशः प्रकाशित हुँदै जाने र सबै वडाको अधिवेशन यही भदौ २७ गते निर्धारित गाउँ–नगरपालिका अधिवेशनसम्म सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।

करिब ९ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ–नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरूले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन् ।

वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

महाधिवेशनअन्तर्गत गाउँ–नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन अगामी असोज ५ गते तोकेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

प्रतिक्रिया