अफगानिस्तानबाट थप ६१ जना नेपाली स्वदेश फर्किए

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ नेपाली बुधबार स्वदेश फर्किएका छन् । उनीहरु बिहान कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। बेलायती नियोगमा कार्यरत उनीहरूलाई अफगानिस्तानबाट लन्डन लगिएको थियो । उनीहरुलाई लन्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट काठमाडौं ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

मंगलबार दुई चरणमा गरी २०५ जना नेपालीलाई काठमाडौं ल्याइएको थियो। यसरी ल्याइएका सबैलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइनेछ। मंगलबार नेपाल फर्किएका सबैलाई काठमाडौंको सामाखुसीस्थित होल्डिङ सेन्टरमा कोरोना परीक्षण गर्न पठाइएको थियो ।

ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत ४३७ नेपालीलाई उद्धार गरी बेलायत लगेको थियो। बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्‍याइएको हो। तिनै नेपाली स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया