ओलीकै अहंकारको कारण पार्टी विभाजनको मोडमा उभिइयो : माधव नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीकै अहंकारको कारण पार्टी विभाजनको मोडमा उभिएको बताएका छन् ।

वरिष्ठ नेता नेपालले आज (मंगलबार) आफूनिकट जनवर्गीय संगठनहरुको कार्यक्रमलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले एकता नचाहेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘उहाँ अंहकारको घोडामा सवार हुनुभएको छ, उहाँले एकता चाहनुभएको छैन, उहाँ पार्टीको होइन गुटको नेता सावित हुनुभएको छ, उहाँको ध्यान पार्टीमाभन्दा मदन भण्डारी फाउण्डेसनमा मात्रै केन्द्रित भएको छ ।’

अध्यक्ष ओलीमा प्रधानमन्त्री बनेपछि अहंकार बढेको भन्दै नेता नेपालले आत्मालोचना गर्ने प्रवृत्ति नदेखिएको बताए । ‘उहाँ आफ्नो पद कसरी जोगिएला भन्नेमा मात्रै लाग्नुभएको छ, अरुमाथि लान्छना लगाउने, आरोपित गर्ने, सबै दोष अरुलाई थोपर्ने प्रवृत्ति मात्रै छ’, वरिष्ठ नेता नेपालले भने, ‘पार्टीलाई सशक्त र लोकप्रिय बनाउने र कार्यकर्तामा न्यायको अनुभूति दिलाउने कुरामा उहाँको ध्यान गएन ।’

साथै, अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारवाही गरेका छन् । नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।

कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विनोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।

प्रतिक्रिया