खोप माग गर्दै सडक निर्माण बन्द

झापा । जिल्लाको सुरुंगादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण बिहीबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कन्काई इन्टरनेसनल विल्डर्समा कार्यरत मजदुर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेका हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए ।

उनले भने, ‘खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।’ खोपका लागि मजदुर कर्मचारीको नामावलीसहित कन्काई नगरपालिकामा निवेदनसमेत पेस गरिएको उनले जानकारी दिए । सो सडक खण्डको निर्माणमा १ सय ३० मजदुर कर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिनाअघि प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले अमरपथ सडक खण्डको शिलान्यास गरेका थिए । उक्त सडकको लम्बाइ सुरुङदेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर छ ।

पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत १ अर्ब ४ करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७ दशमलव ८ किलोमिटरको ४७ करोडमा कन्काई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले ५७ करोडमा लिएको छ । ०७६ भदौ १६ गते ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कम्पनीले ०८० भदौ १५ भित्र गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया